मैत्रीपूर्ण खेलमा एनआरटी विजयी
काठमाडाैं, असार ११ : सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा संकटा क्लबलाई पराजित गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...
काठमाडाैं, असार ११ : सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा संकटा क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको मैत्रीपूर्णमा एनआरटीले ए डिभिजन प्रतिद्वन्दी संकटालाई ३–२ गोल अन्तरले हराएको हो। खेलको १५ औं मिनेटमा आशिष सुमनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा कप्तान रन्जित धिमालले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ४७औं मिनेटमा मोसेसले गोल गर्दै पुन संकटालाई २–१ को अग्रता दिलाए। तर, ५८ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई २–२ को बराबरीमा ल्याए।
त्यसपछि खेलको ६० औं मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई ३–२ को जित दिलाए। प्रि–सिजन टुर अन्तर्गत मलेसिया र थाइल्याण्ड भ्रमण अघि एनआरटीले मैत्रीपूर्ण खेल खेलेको हो।
एनआरटीले मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताको खेल्नेछ। यस्तै एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने समेत जनाएको छ।











