फिर्ता बोलाइएका मन्त्रीहरूद्वारा नयाँ मन्त्रीका लागि पार्टी निर्णयभन्दा फरक नाम प्रस्ताव
काठमाडौं, असार ११ : नेकपा एकीकृत समाजवादीका तर्फबाट हाल मन्त्री रहेकाहरूले आफूहरु बाहिरिएपछि नयाँ मन्त्रिमण्डलमा पठाउन सांसदहरूको सूची तयार पारेका छन्।उनीहरूले ललितपुरका कृष्णलाल...
काठमाडौं, असार ११ : नेकपा एकीकृत समाजवादीका तर्फबाट हाल मन्त्री रहेकाहरूले आफूहरु बाहिरिएपछि नयाँ मन्त्रिमण्डलमा पठाउन सांसदहरूको सूची तयार पारेका छन्।
उनीहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेको जनाइएको छ।
यसअघि पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई हटाएरजीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने निर्णय गरेको थियो। साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो। स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय पनि पार्टीले गरेको थियो।
बहालवाला मन्त्रीहरूले आफूले प्रस्ताव गरेकालाई मन्त्री बनाउनु पर्ने सर्तमा मात्र आफू फिर्ता हुने अडान राखेका छन्। उनीहरूले पार्टीबाट मन्त्रीको रुपमा प्रस्तावित भएका सांसदहरूबारे सार्वजनिक रुपमा नै आपत्ति जनाएका थिए।
नेकपा एसको सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरू असन्तुष्ट थिए। उनीहरूसहित १० सांसदले बजेट अधिवेशनका बेला सांसदहरूले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिनुपर्ने विषयलाई बेवास्ता गर्दै सरकारबाट फिर्ता बोलाउने निर्णय सही र स्वाभाविक नभएको भन्दै संसदीय दलको बैठकसमेत माग गरेर अध्यक्ष माधवकुमार नेपालको ध्यानाकर्षण गराएका थिए।
प्रस्तावित मन्त्रीहरु समावेशी सन्तुलित नभएको आवाज पनि उनीहरूले उठाएका थिए।











