ओली प्रधानमन्त्री छाड्न तयार भए पनि प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा टुक्रियो : गाैतम
काठमाडौं, असार ११ : वामपन्थी नेता वामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप फिर्ता नभएका कारण...
काठमाडौं, असार ११ : वामपन्थी नेता वामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप फिर्ता नभएका कारण पार्टी एकता नजोगिएको दाबी गरेका छन्।
त्यतिबेला ओली पार्टी एकता जोगाउने सन्दर्भमा प्रधानमन्त्री पद छाड्नसमेत तयार भइसक्दा पनि प्रचण्डले नमानेको दाबी पनि उनले गरे।
आज (शनिबार) नेकपा राष्ट्रिय एकता अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमले विगतमा जे भए पनि फेरि वामपन्थीहरूबीचको एकताका लागि आफू पुनः सक्रिय भएको बताए।
उनले तत्कालीन नेकपालाई फुटबाट जोगाउन ओलीले सकारात्मक भूमिका खेलेको तर प्रचण्डले आरोप फिर्ता लिन नमानेकै कारण नेकपा एकता जोगाउन नसकिएको बताए।
पार्टी एकता जोगाउन अध्यक्ष ओली अर्का अध्यक्ष दाहालको निवास खुमलटारमा समेत पुगेर छलफल गरेको तर आरोप फिर्ता लिन नमान्दा पार्टी जोगाउने प्रयास निरर्थक बन्न पुगेको उनको भनाइ थियो।
‘दुई अध्यक्षबीच भएको बैठकमा म पनि थिएँ । अध्यक्ष ओलीले पार्टी एकता जोगाउन आएको र त्यसका लागि जे पनि गर्न तयार छु भन्नुभएको थियो,’ उनले भने, ‘ओलीले एउटा पद छाड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभएको थियो। पहिलो विषयमा दुवै नेता सहमत देखिनुभयो तर प्रचण्डले आरोपहरू फिर्ता लिन नसक्ने बताउनुभएपछि कुरा बिग्रियो।’











