पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन संसदीय समितिको निर्देशन
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगमलाई सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो।
काठमाडौं, असार १० : पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन संसदीय समितिले निर्देशन दिएको छ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगमलाई सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो।
पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धि भएपछि जनता मारमा परेको भन्दै समितिले तत्कालका लागि ५० प्रतिशत कर घटाउन निर्देशन दिएको हो । भारतबाट आयात हुने पेट्रोलियम पदार्थमा सरकारले विभिन्न शीर्षकमा ६५ रुपैयाँ ६१ पैसा कर लिँदै आएको छ । संसदीय समितिको निर्देशनसँगै अब सरकारले ३२ रुपैयाँ ८० पैसा मात्रै कर लिनुपर्नेछ।
यसअघि समितिको असार ६ गते बसेको बैठकले पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न उपायको खोजीको गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो।
उक्त निर्देशनमा शुक्रबार संसदीय समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकले सभापति समेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल गरेको हो।