प्रचण्डले व्यक्त गरे फेरि प्रधानमन्त्री बन्ने चाहना
उनले अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको र पुन नेतृत्व गर्न पाए देशका विद्यमान विकृतिमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए।
काठमाडौं, असार १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पुनः प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका हुन्।
उनले अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको र पुन नेतृत्व गर्न पाए देशका विद्यमान विकृतिमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए।
कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा सपना हो कि विपना हो भन्दाभन्दै गएको र दोस्रो कार्यकालमा गर्व गर्न लायक काम गरेको दाबी गरे । ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बित्यो । एउटा नयाँ परिस्थिति बन्यो,’ उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाई त्यसमा गर्व छ।’
उनले अब प्रधानमन्त्री बन्न पाएको खण्डमा भने देशलाई नयाँ युगतिर लैजाने प्रचण्डको दाबी छ। ‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ,’ उनले भने, ‘मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति ।’











