काठमाडौं महानगरको बजेट साढे २५ अर्ब, पूर्वाधार विकासमा ११ अर्ब

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाखको बजेट ल्याएको छ । शुक्रबारको नगरसभामा महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन्।
महानगरले कुल बजेटको २० प्रतिशत कार्यालय खर्चका लागि छुट्याएको छ । उपप्रमुख डंगोलका अनुसार ४ अर्ब ६८ करोड रुपैयाँ कार्यालय खर्चका लागि छुट्टयाइएको हो।
महानगरले ४९ प्रतिशत बजेट पूर्वाधार विकासका लागि छुट्याएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख डंगोलले ११ अर्ब ८ करोड रुपैयाँ पूर्वाधार विकासका लागि विनियोजन गरेको जानकारी दिइन् ।
सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ६२ करोड विनियोजन गरिएको छ। यो बजेटको ७ प्रतिशतभन्दा बढी हो।सुशासन कार्यक्रम सञ्चालन गर्न ४ अर्ब ४६ करोड विनियोजन गरिएको छ जुन बजेटको करिब २० प्रतिशत हो। त्यस्तै आर्थिक विकासका लागि ५० करोड २१ लाख छुट्टयाइएको छ। यो बजेटको २।२४ प्रतिशत हो।
काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि संघ तथा प्रदेश सरकारबाट १ अर्ब ३१ करोड रूपैयाँको सशर्त अनुदान प्राप्त गरेको उपमेयर डंगोलले जानकारी दिइन्।











