प्रचण्डका कारण मन्त्री हेरफेरमा ढिलाइ : मेटमणि चाैधरी
काठमाडाैं, असार १० : नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण आफ्नो पार्टीले सिफारिस गरेका मन्त्री हेरफेरमा ढिलाइ...
काठमाडाैं, असार १० : नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण आफ्नो पार्टीले सिफारिस गरेका मन्त्री हेरफेरमा ढिलाइ भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज (शुक्रबार) पत्रकारहरूसँग कुरा गर्दै उनले शपथ रोकिनुमा कमजोरी प्रधानमन्त्री शेरबहादुर देउवाको भए पनि भूमिका प्रचण्डको रहेको बताएका हुन्।
नेकपा एसले मन्त्री फेरेपछि आफ्नो पार्टीमा पनि मन्त्री हेरफेरका लागि दबाब पर्ने भएकाले प्रचण्डले आफूहरूको शपथ हुन नदिएको उनको भनाइ थियो।
‘समाजवादीकालाई शपथ गराएपछि माओवादीभित्र पनि दबाब बढ्छ, त्यसकारण उहाँले पछिपछि भन्नुभएको छ,’ उनले भने।
उनले गठबन्धनका नेताहरूको कुरा सम्बोधन गर्नु प्रधानमन्त्रीको दायित्व भए पनि नेकपा एसको जेठ २२ गतेकाे निर्णय कार्यान्वयन नगर्नु दुखद भएको बताए।
निर्णय कार्यान्वयन गर्न नसके एकीकृत समाजवादी चाहिन्न भन्न सक्नुपर्ने उनको भनाइ थियो।
चौधरीले ६ महिना मात्रै मन्त्री हुन्छौं भनेर जानेहरूमा नैतिकता नदेखिएको संकेतसमेत बताए। ‘नैतिकवान् मन्त्री हो भने पार्टीले २२ गते निर्णय गर्दा सोही दिन राजीनामा दिनुपर्थ्यो,’ उनले भने।
नेकपा एसले चौधरीलाई सहरी विकासमन्त्रीका रूपमा सिफारिस गरेको छ।











