सेयर लगानीकर्ता काेइराला र धितोपत्र बोर्डबीच सहमति, तोडियाे अनशन
काठमाडौं, असार १० : सेयर बजार सुधारको आमरण अनशनमा बस्दै आएका लगानीकर्ता तिलक कोइरालाले अनशन तोडेका छन्। आज (शुक्रबार) धितोपत्र बोर्डसँग १९ बुँदे सहमति...
काठमाडौं, असार १० : सेयर बजार सुधारको आमरण अनशनमा बस्दै आएका लगानीकर्ता तिलक कोइरालाले अनशन तोडेका छन्। आज (शुक्रबार) धितोपत्र बोर्डसँग १९ बुँदे सहमति भएपछि कोइरालाले अनशन तोडेका हुन्।
बोर्ड र कोइरालाबीच मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्नेगराउने, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गर्ने सहमति भएको छ।
दुई पक्षबीच वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने, विदेशमा रहेका श्रमिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत आरक्षण गर्ने काम साउनदेखि कार्यान्वयनमा ल्याउने सहमति भएको छ।
नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने, साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमइज प्लाटफर्म भदौ महिनासम्म कार्यान्वयन ल्याउन पहल गर्ने सहमति पनि भएको छ।
दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने सहमतिसमेत भएको छ।
बोर्डले मौखिक रूपमा जनाउँदै आएको प्रतिबद्धतालाई बोर्डका अध्यक्ष रमेश कुमार हमाल, निमित्त कार्यकारी निर्देशकद्वय विनयदेव आचार्य तथा मुक्ति श्रेष्ठले लिखित सहमति जनाउँदै हस्ताक्षर गरेपछि कोइराला अनशन तोड्न राजी भएका हुन्।
काेइराला १९ बुँदे माग राखेर यही असार १ गतेदेखि आमरण अनशन बस्दै आएका थिए। उनी यसअघि पनि दुईपटक आमरण अनशन बसेका थिए।














