नेकपा एसमा मन्त्री हेरफेरको विषय पेचिलाे बन्दै, १० सांसदले बुझाए ध्यानाकर्षणपत्र
उनीहरूले संसदीय दलको बैठकसमेत माग गरेका छन्।
काठमाडौं, असार १० : नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषय पेचिलो बनेको छ।
बजेट अधिवेशन चलिरहेको समयमा मन्त्री फेर्ने निर्णय सही र स्वाभाविक नभएको भन्दै १० सांसदले अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पकुमारी कर्ण कायस्त, धनबहादुर बुढा र निरा जैरुले ध्यानाकर्षणपत्रमा हस्ताक्षर गरेका छन्।
नेकपा एसले जेठ २२ गते नयाँ मन्त्रीहरूको नामसमेत प्रस्ताव गरेर पुरानालाई फर्काउने निर्णय गरेको थियो। तर सो निर्णय हालसम्म कार्यान्वयनमा आउन नसकेको भन्दै पार्टीभित्र व्यापक असन्तुसष्टि पैदा भएको र निर्णय कार्यान्वयनका लागि अध्यक्ष नेपालमाथि दबाब सिर्जना भइरहेको अवस्थामा १० सांसदले बुझाएकाे ध्यानाकर्षण पत्रमा मन्त्रीहरूलाई अपराधीजस्तो व्यवहार गरिएको उल्लेख छ।
बजेट अधिवेशनमा सांसदहरुले उठाएका प्रश्नहरुमाथि जवाफ दिएर मन्त्री पदबाट बाहिरिने भनी आफूहरूले गरेको प्रतिबद्धतालाई कमजोरी ठानिएको सो पत्रमा उल्लेख छ।
उनीहरूले प्रस्तावित मन्त्रीहरू समावेशी नभएकाे पनि उल्लेख गरेका छन्। उनीहरूले पुरानाे टिम पुरै फिर्तार नयाँ पनि सन्तुलित र समावेशी हुनुपर्ने माग उनीहरूकाे छ। यी सबै विषयमा छलपफलका लागि उनीहरूले संसदीय दलको बैठकसमेत माग गरेका छन्।













