‘प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ ’
काठमाडौं, असार ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको...
काठमाडौं, असार ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताएका छन्।
प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रुपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने भनाइ राखे ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण सम्पन्न हुन लागेको र एक लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको प्रधानमन्त्री देउवाले जानकारी गराए । रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने उनले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताए।
सनातन संस्कृति कोश, लोकवार्ता कोश जस्ता महत्वपूर्ण ग्रन्थ यसैवर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री आलेले जानकारी दिए। काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकामा उनले असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य डा रामकुमार फुयाँलले प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका क्षेत्रमा समय सापेक्ष विशिष्टिकृत संस्थाका रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए।
प्रतिष्ठान जस्ता संस्थाको बजेट वृद्धि गर्न आफूले पटकपटक कुरा राखेको उनको भनाइ थियो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संविधान अनुसार नेपालको बहुलताका विषयमा प्रतिष्ठानले अध्ययन अनुसन्धान गराइरहेको जानकारी गराए ।











