‘कार्यदल असफल हो भने बादल र पौडेल पनि असफल’
काठमाडौं, माघ २५ : नेकपाको एकीकरणको काम टुंगो लगाउन गठित कार्यदलका सदस्य लेखराज भट्टले पार्टी सचिवालयले काम गर्नै नदिई कार्यदललाई ‘असक्षम’....
काठमाडौं, माघ २५ : नेकपाको एकीकरणको काम टुंगो लगाउन गठित कार्यदलका सदस्य लेखराज भट्टले पार्टी सचिवालयले काम गर्नै नदिई कार्यदललाई ‘असक्षम’ घोषणा गर्ने प्रयास गरेकोमा आपत्ति जनाएका छन् ।
पार्टी सचिवालयको मंगलबार बसेको बैठकले कार्यदल ‘असफल’ भएकाले जति काम भएको छ, त्यत्तिकै प्रतिवेदन बुझाउन दिएको निर्देशनप्रति उनले आपत्ति जनाए ।
काठमाडौंप्रेससँग कुराकानी गर्दै नेता भट्टले भने, “कार्यदललाई काम गर्न दिनुपर्यो । त्यसपछि सकेन भने पो असक्षम भन्न मिल्छ । यत्तिकै असक्षम भन्न मिल्दैन ।”
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टले कार्यदल असफल हो भने आफूहरू मात्र असफल नभई त्यसमा रहेका सचिवालयका दुई जना सदस्यहरू– महासचिव विष्णु पौडेल र गृहमन्त्री रहेका अर्का नेता रामबहादुर थापा पनि असफल हुने बताए । “कार्यदलमा महासचिव र बादल कमरेड पनि हुुनुहुन्छ, उहाँहरूको पनि जिम्मेवारी हो,” नेता भट्टले भने ।
कसरी प्रतिवेदन तयार गर्ने भन्नेबारेमा बुधबार पनि छलफल भएको बताउँदै भट्टले बिहीबार पनि बैठक बस्ने भनेकाले आफू फोनमा खबर कुरेर बसिरहेको बताए । “संयोजकले प्रतिवेदन बनाएर ल्याउने कुरा भएको छ,” कार्यदलका सदस्य भट्टले भने, “त्यो कस्तो आउँछ हेरौँ, के गर्ने भन्ने त्यसपछि विचार गरौँला ।”
कार्यदलमा संयोजक रामबहादुर थापा ‘बादल’को भूमिकाबारे प्रश्न गर्दा भट्टले भने, “वहाँको व्यस्तताले गर्दा पो हो कि, कार्यदलमा त्यत्ति सक्रियता पाइएन ।”
नेकपाल कार्यदलले प्रतिवेदन नबुझाउँदा एकीकरणको प्रक्रियामा ढिलाइ भएको छ । केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी बाँडफाँड, प्रदेश कमिटीको विवाद हल गर्ने, जिल्ला कमिटीको एकीकरण लगायतका विषय टुङ्गिएका छैनन् ।






