टिपरको ठक्करबाट भक्तपुरमा दुईजनाको मृत्यु
भक्तपुर, असार ९ : भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९...
भक्तपुर, असार ९ : भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो।
उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताउनुभयो । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











