Kathmandu Press

अडियो प्रकरण : विवादित न्यायाधीश र अधिवक्तालाई जिम्मेवारीविहीन गर्न सर्वोच्च बारको आग्रह 

सर्वोच्च बारले घटनाको छानविनबाट उचित निकास नआएसम्म विवादित व्यक्तिहरुलाई आ–आफ्नो जिम्मेवारीबाट अलग राख्न माग गरेको छ। 
अडियो प्रकरण : विवादित न्यायाधीश र अधिवक्तालाई जिम्मेवारीविहीन गर्न सर्वोच्च बारको आग्रह 

काठमाडौं, असार ८ : सर्वोच्च अदालत बार एशोसिएशनले अडियो प्रकरणमा जोडिएका न्यायाधीश र अधिवक्तालाई जिम्मेवारीबाट अलग गर्न माग गरेको छ। 

बुधबार विज्ञप्ति जारी गर्दै सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले अडियो संवादको विषयले न्यायालयको स्वतन्त्रता, गरिमा र सम्मान तथा कानून व्यवसायीको मर्यादा र निष्ठामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ। 

सर्वोच्च बारले घटनाको यथाशिघ्र छानविन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ । ‘उक्त अवाञ्छित, अमर्यादित र अनुचित कार्यमा संलग्न सम्पूर्ण व्यक्तिप्रति आवश्यक कारवाहीका लागि सम्बन्धित निकायसमक्ष यो बार एशोसिएशन हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ। 

सर्वोच्च बारले घटनाको छानविनबाट उचित निकास नआएसम्म विवादित व्यक्तिहरुलाई आ–आफ्नो जिम्मेवारीबाट अलग राख्न माग गरेको छ। 

सहकारी ठगि मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई १० करोड धरौटीमा रिहा गर्ने सम्बन्धमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको टेलिफोन संवाद बुधबार बाहिरिएको थियो। 

टेलिफोन संवादको अडियो टेप बाहिरिएपछि  न्याय परिषद्ले न्यायाधीश कोइरालालाई ४५ दिनसम्म काममा रोक लगाउने निर्णय गरेको छ।सो अवधिमा उनीमाथि लागेको आरोपका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय समिति समेत बनाइएको छ। 

नेपाल बार एशोसिएसनले पनि उक्त प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै यथाशीघ्र कारवाहीको माग गरेको छ।

 
 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्