न्यायाधीश-अधिवक्ता माेलमाेलाइ प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन
काठमाडौं, असार ८ : बचतकर्ताको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरेको आरोप लागेका...
काठमाडौं, असार ८ : बचतकर्ताको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरेको आरोप लागेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति बनाइएको छ।
आज (बुधबार) बसेको न्यायपरिषद्को बैठकले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।
छानबिन समितिका दुई सदस्यमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन्। सो समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको जनाइएको छ।
न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रशारण गरेको थियो। न्यायाधीश कोइरालाले भने आफूले त्यस्तो कुनै अनुचित काम नगरेको दाबी गरेका छन्। आफूमाथि न्याय परिषद्बाट छानबिन भए पूर्ण सहयोग गर्ने उनले बताएका छन्।
सार्वजनिक भएको अडियो रेकर्डमा अधिवक्ता पोखरेलले १० करोड धरौटीमा रिहा गर्ने गरी फैसला गर्न न्यायाधीश कोइरालालाई आग्रह गरेका छन् । त्यसवापत आरोपित तामाङबाट २ करोड रुपैयाँ प्राप्त हुने लोभ समेत देखाएको अडियोबाट सुनिन्छ।
धरौटीमा रिहा गर्ने फैसला सदर गराउन तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत कुरा गर्ने अधिवक्ता पोखरेलले भनेका छन् । त्यसका लागि प्रधान्यायाधीशसँग समय लिने र कुराकानी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।











