Kathmandu Press

न्यायाधीश-अधिवक्ता माेलमाेलाइबारे नेपाल बारले गर्‍याे छानबिनकाे माग

अडियोको अधिकारिकता तथा सत्यतथ्यको छनबिन गरी कसुरदारलाई कानुनी दायरामा ल्याउन सम्बन्धित नियमनकारी निकायहरूसँग माग गरेको छ।
न्यायाधीश-अधिवक्ता माेलमाेलाइबारे नेपाल बारले गर्‍याे छानबिनकाे माग

काठमाडौं, असार ८ : बचतकर्ताको रकम ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको मोलमोलाइको अडियोबारे नेपाल बार एसाेसिएसनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

बारकी महासचिव अन्जिता खनालले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर न्यायाधीश कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै हुने अवाञ्छित, अमर्यादित र अनुचित कार्यको निन्दा गरेकी छन्।

‘न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका निम्ति यस एसोसिएसनले सदैव पहरेदारी गरी आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका मा।न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेल बीचमा ईं इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरिएको अडियो भनी २०७९ असार ७ गते राति न्युज–२४ को सीधा कुरा जनतासँग मा प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानन व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित अमर्यादित र अनुचित कार्यहरुको नेपाल बार एशोसिएशन घोर निन्दा गर्दछ।’

अडियोको अधिकारिकता तथा सत्यतथ्यको छनबिन गरी कसुरदारलाई कानुनी दायरामा ल्याउन सम्बन्धित नियमनकारी निकायहरूसँग माग गरेको छ।   

‘सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्य(तथ्य बेहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि यस नेपाल बार एसोसियसन सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक भएको अडियो रेकर्डमा अधिवक्ता पोखरेलले १० करोड धरौटीमा रिहा गर्ने गरी फैसला गर्न न्यायाधीश कोइरालालाई आग्रह गरेका छन् । त्यसवापत आरोपित तामाङबाट २ करोड रुपैयाँ प्राप्त हुने लोभ समेत देखाएको अडियोबाट सुनिन्छ। 

धरौटीमा रिहा गर्ने फैसला सदर गराउन तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समेत कुरा गर्ने अधिवक्ता पोखरेलले बताएका छन्। त्यसका लागि जबरासँग समय लिने र कुराकानी अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। 

सो अडियो रेकर्ड सार्वजनिक भएपछि नेपालको न्याय क्षेत्र तरंगित बनेको छ। 

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्