Kathmandu Press

इच्छाराजलाई छुटाउन १० करोड डिल भएको अडियो सार्वजनिक, न्याय क्षेत्र तरंगित

आरोपितलाई धरौटीमा रिहा गर्न करोडौंको डिल भएको अडियो रेकर्ड सार्वजनिक भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक  बोलाएका छन् ।
इच्छाराजलाई छुटाउन १० करोड डिल भएको अडियो सार्वजनिक, न्याय क्षेत्र तरंगित

काठमाडौं, असार ८ : बचतकर्ताको ७ अर्ब बढी रकम ठगि गरेको अभियोगमा पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न करोडौंका डिल भएको अडियाे बाहिरिएकाे छ। 

न्यूज २४ टेलिभिजनले इच्छाराजको मुद्दामा बहस गर्दै आएका अधिवक्ता रुद्र प्रसाद पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच करोडौंको डिल भएको अडियो रेकर्ड सार्वजनिक गरेपछि नेपालको न्याय क्षेत्र तरंगित बनेको छ। 

सार्वजनिक भएको अडियो रेकर्डमा अधिवक्ता पोखरेलले १० करोड धरौटीमा रिहा गर्ने गरी फैसला गर्न न्यायाधीश कोइरालालाई आग्रह गरेका छन् । त्यसवापत आरोपित तामाङबाट २ करोड रुपैयाँ प्राप्त हुने लोभ समेत देखाएको अडियोबाट सुनिन्छ। 

धरौटीमा रिहा गर्ने फैसला सदर गराउन तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत कुरा गर्ने अधिवक्ता पोखरेलले भनेका छन् । त्यसका लागि प्रधान्यायाधीशसँग समय लिने र कुराकानी अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

जिल्ला अदालतका मुख्य न्यायाधीश र प्रधानन्यायाधीसँग सेटिङ गरेर सबै मिलाउने अधिवक्ता पोखरेलले आश्वासन दिँदै १० करोड धरौटीमा रिहा गर्न न्यायाधीशलाई २ करोडको लोभ देखाएका हुन्। 

अधिवक्ताले आश्वस्त पारेपछि न्यायाधीश कोइराला पनि डिलमा सकारात्मक देखिएको अडियो रेकर्डमा सुन्न सकिन्छ । उनले त्यस्तो फैसलाबाट मिडिया र बचतकर्ता आन्दोलनमा उत्रिन सक्ने आशंका व्यक्त पनि गरेका छन् । यसप्रति अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई आश्वस्त पार्दै भनेका छन्,  ‘ त्यो केही गर्दैनन । नारा जुलुस केही गर्दैनन । माथि जान्छ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आतिएको ?’

आरोपितलाई धरौटीमा रिहा गर्न करोडौंको डिल भएको अडियो रेकर्ड सार्वजनिक भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक  बोलाएका छन् । बैठक दिउँसो १ बजे बस्ने गरी सबै सदस्यहरुलाई खबर भएको स्रोतले जनाएको छ। 

अडियो सार्वजनिक भएपछि नेपाल बार एशोशियसनले पनि त्यसको वास्तविकता अध्ययन गरि अगाडि बढ्ने भएको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले यस विषयमा  बारका अन्य पदाधिकारी र सदस्यहरुसँग तत्काल छलफल गर्ने जानकारी दिएका छन्। डिल गर्ने अधिवक्ता पाेखरेल बारकै निवर्तमान काेषाध्यक्ष हुन्। 

इच्छाराज तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो ।अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।


 

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्