दिल्लीबाट गुडेको रेल भोलि जनकपुर पुग्ने
जनकपुरधाम, असार ८ : भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम पुग्ने भएको छ।भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ गुडेको रेल बिहीबार...
जनकपुरधाम, असार ८ : भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम पुग्ने भएको छ।
भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ गुडेको रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले बताए।
रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए।
भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ।
भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइनेछ।











