Kathmandu Press

सिस्नेरी खोलाको पानी काठमाडौं ल्याउने यस्तो छ तयारी

काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ।काठमाडौँ...
सिस्नेरी खोलाको पानी काठमाडौं ल्याउने यस्तो छ तयारी

काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि खानेपानीमन्त्री उमाकान्त चौधरीले स्थलगत अध्ययन गरेका छन्। स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइपलाइन बिच्छ्याएपछि दैनिक ६ करोड लिटर पानी राजधानी लैजान सकिने बताए।

मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिए। यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ।

यो आयोजना सम्पन्न गर्न २६ अर्ब लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ। विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०/८१ देखि नै काम शुरु गर्ने लक्ष्य राखिएको पनि मन्त्री चौधरीले बताए।

मेलम्चीको पानी बन्द भएका वेला पनि आपूर्ति नरोक्न वैकल्पिकरूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ। काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी सङ्कलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए।

पानीका स्रोत र मुहानको संरक्षणको कार्यक्रमलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ। बोर्डले पानी सुरक्षाका नक्सा नै बनाएर काम गरेको जनाइएको छ। यहाँको पानी लैजान यहाँका इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ।

दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यहाँको पानी राजधानी लैजाँदा प्रभावित स्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान गरिएको छ।

दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा २०० मिटर तल बागमतीमै मिसिने भएकाले पनि पनि कसैलाई प्रभाव पर्दैन। बागमती बेसिनकै पानी भएकाले केही तल रहेको मध्य बागमती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ। काठमाडौँ उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि बागमतीबाटै बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताए।

वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो। स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको थियो।

यो आयोजना स्थल फर्पिङस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेशनबाट १४ किलोमिटर दूरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए। कुलेखानी खोलाको शाखा कोगतेको पानी पनि यसमा मिसिन्छ।

यो आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते र कुलखानी खोलाको पानी सङ्कलन गरिनेछ। लिमिटेडको सैँबु भैँसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगी काठमाडौँ उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ।

प्रस्तावित बाँधको लम्बाई ३४० मिटर र उचाई ६० मिटर रहनेछ। बाँध निर्माण स्थल समुद्री सतहबाट एक हजार १२० मिटर उचाइमा रहनेछ। सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब दुई किमी उत्तरतर्फ रहेको दरवन डाँडा भनिने एक हजार १४० मिटर उचाइको स्थानमा ल्याई पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौँ उपत्यकामा पठाउने लक्ष्य राखिएको छ।

पानीपोखरीबाट हाल निर्माणधीन द्रुतमार्गमा करिब १९ किमी पाइपलाइन बिच्छ्याइएर ‘ग्राभिटी सिस्टम’ बाट सैँबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जिनीयर नवीन तिवारीले बताए। (रासस)

प्रकाशित मिति: ०६:२० बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्