एयरलाइन्सको धम्की स्वीकार्य छैन्, जनतालाई समस्या आएमा चुप लागेर बस्दैनौं : प्राधिकरण
काठमाडौं, असार ७ : नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि (भोलि) देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा...
काठमाडौं, असार ७ : नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि (भोलि) देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढिकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘प्राधिकरणको निर्णयको बर्खिलामा एयरलाइन्स कम्पनी उत्रनु जिम्मेवारीबाट पछि हट्नु हो’ भन्दै नागरिकको सेवाप्रति जिम्मेवार बन्न आग्रह गरे । उनले भने, “उडान बन्द गर्ने धम्की स्वीकार्य छैन, यो प्राधिकरणको कुनै रहरको विषय नभइ हवाई उडान सुरक्षा सुदृढिकरणका लागि बाध्यकारी निर्णय हो । हवाई सेवा जस्तो संवेदनशील विषयमा व्यवसायीहरू जिम्मेवार हुनुहुन्छ । हडताल गरेर जनतालाई समस्या आएमा प्राधिकरण चुप लागेर बस्दैन ।”
वायुसेवा सञ्चालक सङ्घले आजै पत्रकार सम्मेलन गरेर प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि आपत्कालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको थियो । लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरी हवाई सेवाजस्तो संवेदनशील सेवामा नागरिकको सेवाप्रति जिम्मेवार रहन सचेत गराएको हो ।
प्राधिकरणका महानिर्देशक अधिकारीले विमान कम्पनीहरूले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे । उनले विमान र हेलिकोप्टर कम्पनीले ‘एओसी’ लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा प्राधिकरण स्पष्ट रहेको बताए ।
त्रिअविका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ विमानस्थलमा अत्यधिक उडान चाप रहेकाले सोको व्यवस्थापन र हवाई सुरक्षालाई मध्यनजर गरी निर्णय लिइएको बताए । प्राधिकरण सञ्चालक समितिको बैठकले यही असार ५ गते निर्णय गर्दै हेलिकोप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएका बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौँ बाहेक अनुमति लिएका विमानस्थलमा रात्रि बिसान गर्नुपर्ने उल्लेख छ ।
प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रियतर्फ ११ वटा जहाज र आन्तरिकमा १७ वटा जहाज बिसान ‘पार्किङ’ क्षमता रहेको छ । तेत्तीस विमानको रात्रिकालीन बेस अनुरुप गर्नुपर्ने हुन्छ । तर, हाल आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको छ । हाल आन्तरिकतर्फ ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टर तथा नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज रहेका छन् ।
साथै, हेलिकोप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङगर निर्माण सुरु हुने भएकाले साइट क्लियर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ ।
काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन बिसान गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराइएको जनाएको छ । वायुसेवा सञ्चालकसँग छलफल गरेर कमिटी गठन गरेर अहिलेको निर्णयमा पुगिएको प्राधिकरणले स्पष्ट पारेको छ ।
वायु सेवा सञ्चालक सङ्घले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानका लागि विभिन्न ५ बुँदे माग अघि सार्दै उडान रोक्ने चेतावनी दिएको हो । विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्न सङ्घले माग गरेको छ । यस्तै त्रिअविमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।











