महामन्त्रीद्वय थापा र शर्माले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं, असार ६ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री देउवालाइ विभिन्न विषयमा ध्यानाकर्षण गराए।उनीहरुले पार्टी गतिविधिसँगै अन्य समसामयिक विषयमा झन्डै डेढ घन्टा देउवासँग छलफल गरे।
उनीहरुले पार्टीको नीति महाधिवेशन, विभाग गठनदेखि समीक्षा बैठक र केन्द्रीय समितिलाई पूर्णता दिनेसम्मका विषयमा छलफल गरेको बताइएको छ।
त्यस्तै लगातार भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने र अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा जनभावनाविपरीत जान नहुने भन्दै छलफलमा देउवालाई सुझाइएको भएको जनाइएको छ।
महामन्त्रीद्वयले सेयर बजारमा देखिएको समस्याबारे पनि सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए। विदेशमा रहेका प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चित गर्ने कुरा पनि बैठकमा उठाइएको जनाइएको छ।
देउवाले छलफलमा उठेका सबै विषयमा आफू गम्भीर रहेको बताएका थिए। अहिले उठिरहेको एसपिपीको विषयमा आफूले सार्वजनिक रुपमा धारणा व्यक्त गरिसकेको बताए।
पार्टी गतिविधि र सरकार सञ्चालनका सन्दर्भमा आफू सचेत रहेको पनि देउवाले बताएका थिए।











