अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा सदन बहिष्कार
एमालेले गम्भीरतापूर्वक उठाएको विषयमा ध्यान दिनुपर्ने र छानबिनको सहजताका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने सांसद गाेकुल बास्काेटाले बताए। अर्थमन्त्रीले दिने जवाफ एमालेले सुन्न नचाहेकाे हुँदा सदन बहिष्कार गर्ने उनले बताए।
काठमाडाैं, असार ६ : एमालेका सांसदहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सदन बहिष्कार गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विभिन्न विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन अर्थमन्त्री शर्मालाई समय दिएपछि एमाले सांसदहरुले आआफ्नो सिटमा उभिएर विरोध गरेका थिए।
त्यसपछि सभामुख सापकोटाले एमाले सांसद गोकुलप्रसाद बास्कोटालाई बोल्न १० मिनेट समय दिएका थिए।
बजेट निर्माणका क्रममा विभिन्न कर निर्धारण गर्न मन्त्रालयमा अनधिकृत रुपले असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर एमालेले निरन्तर प्रश्न उठाइरहेको, जनताले सो विषयमा जान्न चाहिरहेको तर गठबन्धनको सरकार खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले केही नबोलेको भन्दै बास्कोटाले आपत्ति जनाए।
अर्थमन्त्री शर्मा संयमित भएको भन्ने अपेक्ष गरिए पनि उनले बाहिर गएर प्रतिपक्ष कहाँ छ भनी प्रश्न गरेको आरोप लगाए। उनले प्रतिपक्ष सदनमै रहेको र निरन्तर प्रश्न गरिरहेको उनले बताए।
पञ्चायतकालमा पनि सरकारले प्रतिपक्षी नदेख्नु स्वाभाविक भए पनि अहिले बहुदलीय व्यवस्थामा पनि त्यस्तै चरित्र देखापरेको उल्लेख गर्दै उनले सरकार त्यस्तै अभ्यासतर्फ केन्द्रित हुन थालेको त होइन भन्दै व्यंग्य गरे।
प्रतिपक्षीलाई नदेख्ने अनि बाहिर खोज्दै हिँड्ने प्रवृत्ति संसदीय व्यवस्थाको मानमर्दन भएको उनले बताए। ‘यसलाई हामी स्वीकार्न सक्दैनौं, यसबाट संसदीय व्यवस्था उन्नत सुसंस्कृत पनि हुन सक्दैन,’ उनले भने।
अर्थमन्त्रीले डेल्डा, टाटा नेक्सन, जगदम्बा मात्र देखेको प्रतिपक्ष िनदेखेको आरोप लगाए। मन्त्रालयका कर्मचारीहरूलाई चिहिलबिहिल बनाएर अर्थमन्त्रीले राष्ट्रको बजेटमाथि खेलबाड गरेको आरोप पनि लगाए।
एकातिर समाजवादको कुरा गरेर अर्कातिर दलाल पुँजीपति व्यापारीको पक्षपोषणमा अर्थमन्त्री लागेको उनको भनाइ थियो।
अर्थ मन्त्रालयमा भएको घटनाको छानबिनका लागि समिसत बनाउनुपर्ने र दोषी देखिए सजायको भागीदार हुनुपर्ने उनले बताए। राजीनामा दिनेमा आफू पनि एक उदाहरण भएको बताउँदै उनले अर्थमन्त्रीले पनि राजीनामा दिनुपर्ने बताए। गायत्री मन्त्र गाएर बस्न नहुने छानबिन समिति बनाउनुपर्ने उनले दोहोर्याए।
एमालेले गम्भीरतापूर्वक उठाएको विषयमा ध्यान दिनुपर्ने र छानबिनको सहजताका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए। अर्थमन्त्रीले दिने जवाफ एमालेले सुन्न नचाहेकाे हुँदा सदन बहिष्कार गर्ने उनले बताए।
त्यसपछि सभामुखले राष्ट्रका लागि अत्यावश्यक विषयमा छलफल भइरहेका बेला यथास्थानमा बस्न आग्रह गर्दागर्दै एमाले सांसदहरु बाहिरिएका थिए।











