बाढीले दमकका १३ परिवार विस्थापित
झापा, असार ४ : लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन्।केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै...
झापा, असार ४ : लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन्।
केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन्।
विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दीपक गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कटान परेका परिवाराई गएराति नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।
यसैगरी, आज बिहान नै रतुवा खोलामा बाढी आउँदा गौरादह–६ स्थित टङ्गुवा बस्तीमा करिब २५ घर डुबानमा परेका छन्।
डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र बस्तीमा दुई फिटजति पानी पसेको तर क्षति भने नभएको उपरीक्षक पाठकले बताए।











