आज एन्फाको चुनाव, शेर्पा र नेम्वाङ प्रतिस्पर्धामा
काठमाडौं, असार ६ : अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै छ।काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा निर्वाचन कार्यक्रम तय...
काठमाडौं, असार ६ : अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै छ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा निर्वाचन कार्यक्रम तय गरिएको छ। आज बिहान हुने उद्घाटन सत्रपछि निर्वाचन कार्यक्रम शुरु हुने एन्फाले जनाएको छ।
एन्फाको अध्यक्षका लागि कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ प्यानलसहित प्रतिस्पर्धामा छन्। शेर्पा वर्तमान अध्यक्ष हुन भने नेम्वाङ वरिष्ठ उपाध्यक्ष हुन्।
त्यस्तै, राजीव पौडेलले पनि अध्यक्षमा उम्मेदवार बनेका छन्। उनी फ्रेन्डस् क्लबका पूर्व अध्यक्ष हुन्।
एक वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र चार उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन्।
नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उम्मेदवार बनेका छन्।
एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ। निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य निर्वाचित हुनेछन्।
एन्फामा ८७ मतदाता छन्। सिन्धुली र भक्तपुर जिल्ला निर्वाचनमा सहभागी नहुने भएका छन्। सिरहा जिल्लाको मताधिकार बदर भएको छ। त्यसैले, ८४ मतदाता रहेका छन्।
जसमा जिल्लाबाट ४२, ए डिभिजन क्लब १४, बी डिभिजन क्लब ११, सी डिभिजन क्लब नौ तथा राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब र चार वटा संघ मतदान गर्नेछन्।











