नेकपा एसका अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेट, नागरिकता विधेयकको विषयमा छलफल
काठमाडौं, असार ५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेका छन् । एकीकृत समाजवादी पार्टी कार्यालय...
काठमाडौं, असार ५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेका छन् ।
एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए अध्यक्ष नेपालसँग पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए । भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको थियो ।
नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिएको र कुराकानी सकारात्मक भएको गृहसचिव पाण्डेले जानकारी दिए । सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेट्नु भएको हो ।
गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्दै आएका छन् । खाणले यसअघि प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन छलफल थरेका थिए ।
सबै नेताहरूसँगका भेट सकारात्मक भएका छन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।











