विदेश बस्नेको मृत्युदर्ता प्रमाणपत्र बनाई काठमाडौंको जग्गा बेच्ने पाँचजना पक्राउ
काठमाडाैं, असार ५ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (ब्युरो) ले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने...
काठमाडाैं, असार ५ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (ब्युरो) ले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने पाँचजनालाई पक्राउ गरेको छ।
ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो।
उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्रि गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले जानकारी दिए।
जग्गा बिक्रि गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र नक्कली छोरी खडा गरि नक्कली विवाद दर्ता प्रमाणपत्र समेत पेश भएको अनुसन्धानबाट खुलेको महताेले बताए।
लामो समय नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउ खोज्दा आफ्नो नाममा नभएको पाइएपछि व्युरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महत्तोले जानकारी दिए।
पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको व्युरोले जानकारी गराएको छ। पक्राउ परेका व्यक्तिहरुको बारे थप अनुसन्धानसमेत भइरहेको ब्युरोको भनाइ छ।











