Kathmandu Press

अमेरिका भ्रमण औपचारिक रूपमा तय भएपछि जानकारी गराउनेछु : प्रधानमन्त्री

उनले आज (आइतबार) नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन्।
अमेरिका भ्रमण औपचारिक रूपमा तय भएपछि जानकारी गराउनेछु : प्रधानमन्त्री

काठमाडाैं, असार ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्।

उनले आज (आइतबार) नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी सचेतक भुसालले आज देउवासँग भेट गरेकी थिइन्। 

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारेका थिए।

समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो। प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको बुझिएको छ। 

बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आगामी बैठकमा पुनः आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल) ले जानकारी दिइन्। साथै बैठकले समितिको प्रतिवेदन, २०७९ आवश्यक परिमार्जनसमिति पारित गरेको छ। 

बैठकमा बोल्ने अधिकांश समिति सदस्यले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सन् २०१९ पछि अमेरिकाकै ‘इण्डो प्यासिफिक रणनीति’ मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिएका थिए। 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्