शेयर बजारमा आज विक्रेता हाबी
काठमाडौं, कात्तिक २१ : नेप्से परिसूचक ६ दशमलव ०५ ले घटेर ११३१ दशमलव ९७ को विन्दुमा पुगेको छ। बिहीबार दोस्रो बजार परिसूचकमा ० दशमलव ५३ प्रतिशतकोे ....
काठमाडौं, कात्तिक २१ : नेप्से परिसूचक ६ दशमलव ०५ ले घटेर ११३१ दशमलव ९७ को विन्दुमा पुगेको छ। बिहीबार दोस्रो बजार परिसूचकमा ० दशमलव ५३ प्रतिशतकोे गिरावट देखिएको छ।
११३८ दशमलव २८ को विन्दुमा खुलेको दोस्रो बजार ११३९ दशमलव ३६ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११३१ दशमलव ३४ मा रहँदा दिनभरमा ३७ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एनएमबी बैंकको अत्यधिक कारोबारले गर्दा कारोबार रकम भने बढेको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। मर्जर पश्चात कारोबार खुलेकाले बिहीबार अत्यधिक कारोबार भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने रिडी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव १९ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
आज सिभिल बैंकले ६ दशमलव ५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा ११३० देखि ११३६ को क्षेत्रमा रहेको भनिएको थियो। यही टेवा क्षेत्रमा रहेर बिहीबार ११३१ दशमलव ९७ अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्सेको उतारचढाव हिजोसम्म एसेन्डिङ्ग ट्रायङ्गलको आकृतिभित्र सीमित रहेको देखिएको थियो भने आजदेखि सो आकृति रद्द भएको देखिन्छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ। यसले बजारमा पुनः विक्रेता हाबी रहेको संकेत गर्दछ। आजको परिमाणले पनि अन्तिम मैनबत्तीलाई समर्थन गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजारले आज पनि निरन्तरता दिएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले हिजो डेडक्रस बनाएबापत घट्दो प्रवृत्तिमा रहेको बजार आज पनि विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३८ दशमलव ७९ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई सकारात्मक हुन खोजेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले आज दिनभर कारोबार समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिएकाले, यदि बजार ११४२ भन्दा माथि स्थिर रहेमा मात्र बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११५२ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११३० भन्दा तल स्थिर रहेमा अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ।