‘संघीय निर्वाचनमा सिट बाँडफाटबारे गठबन्धनमा छलफल सुरू गराैं’
आइतबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले समयमै छलफल नगर्दा स्थानीय तह निर्वाचनमा गठबन्धनमा केही समस्या देखिएको बताए । संघीय निर्वाचनमा त्यस्तो हुन नदिनका लागि सकेसम्म चाडो छलफल सुरु गर्नुपर्ने उनले बताए।
काठमाडाैं, असार ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय निर्वाचनमा गठबन्धनबीच सिट बाँडफाटका मापदण्ड तय गर्न चाँडै नै छलफल शुरु गर्नुपर्ने बताएका छन् ।
आइतबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले समयमै छलफल नगर्दा स्थानीय तह निर्वाचनमा गठबन्धनमा केही समस्या देखिएको बताए । संघीय निर्वाचनमा त्यस्तो हुन नदिनका लागि सकेसम्म चाडो छलफल सुरु गर्नुपर्ने उनले बताए।
स्थानीय तह निर्वाचनमा गठबन्धनबीचको सहमति लागू हुन नसक्दा अपेक्षित परिणाम नआएको उनले बताए। ‘गठबन्धन पूर्ण रुपमा इमानदार भएको भए केही जिल्लामा शतप्रतिशत नतिजा आउने रहेछ भन्ने प्रमाणित भएको छ,’ उनले भने, त्यसैले संघीय निर्वाचनमा सिट बाँडफाटका लागि अहिलेदेखि नै छलफलको आवश्यकता छ।’
उनले स्थानीय तह निर्वाचनको तुलनमा संघीय निर्वाचनमा गठबन्धनबीचमा तालमेल त्यति धेरै पेचिलो नहुने समेत बताए। ‘संघीय निर्वाचनमा केन्द्रबाट नै उम्मेदवार तय गरिने भएका कारण स्थानीय तहजस्तो पेचिलो हुँदैन, सहमति गर्न सकिन्छ,’ उनले भने।
अध्यक्ष नेपालले सहमति हुने ठाउँमा सहमति गरेर तालमेल गर्ने र नहुने ठाउँमा के गर्ने भन्नेबारेमा अहिले नै छलफल गरिनुपर्ने बताए।