बैठकमा नआउनुको कारण जानकारी गराउन समितिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडाैं, असार ५ : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समितिको बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय...
काठमाडाैं, असार ५ : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समितिको बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम समयमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराएको भन्दै यसको कारणका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
एसपीपीका विषयमा निकै नकारात्मक कुराहरु आएको विषयमा जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको समिति सभापति पवित्रा निरौला खरेलले समितिमा आउन प्रधानमन्त्रीलाई पत्राचार नै गरेको जानकारी दिइन्।
बैठकमा सभापति निरौलाले निर्णयको मस्यौदा पढेर सुनाउदा कांग्रेसका सांसदहरुले आपत्ति जनाएका थिए। बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले स्पष्ट ढंगले सन्देश पठाएको भन्दै ध्यानाकर्षण गराउन जरुरी नरहेको तर्क गरिन्।
तर एमाले सांसद भीम रावलले बैठकमा आउछु भनेर सहमति जनाएर नआउने विषय खेद प्रकट गर्ने विषय भएको तर्क गरे। एउटा सम्झौताबाट राष्ट्रियता नै कमजोर कमजोर हुने विषयमा प्रधानमन्त्री नआउनु सामान्य विषय नभएको उनको भनाइ थियाे।
त्यसपछि पुन भूसालले यसअघि पनि अरु प्रधानमन्त्री र मन्त्रीहरु समितिमा नआएको भन्दै अहिले नै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता किन पर्यो भन्दै प्रश्न गरिन्।
त्यसपछि पुनः समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री नआउने विषयमा आफुले सोधेपछि मात्रै आउन नसक्ने जानकारी प्राप्त भएको बताए। उनले प्रधानमन्त्रीको बदनाम गर्न नखोजेको भन्दै जानकारी दिन मात्र बोलाइएको तर्क गर्दै पुनः निर्णय सुनाइन्।
तर कांग्रेसका सांसदहरुले संसदीय मर्यादाविपरीतको शब्दहरु हटाउनुपर्ने दोहाेराए। यसअघि बसेको समिति बैठकले एसपिपीका विषयमा भएका सम्पूर्ण पत्र सात दिन भित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको थियो।











