एसपिपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत
पर्सा, असार ५ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमालेले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन्।नेपाल...
पर्सा, असार ५ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमालेले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन्।
नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले यो धारणा राखेका हुन्।
उनले भने, 'ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ तर एजेन्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेन्डा नै बनाउन खोज्यो।'
प्रवक्ता डा. महतले एमाले गएको स्थानीय तहको निर्वाचनपछि एजेन्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए।
एक अर्को प्रसंगमा उनले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनःसञ्चालनको सम्भावना कमै रहेको बताए।
निजी क्षेत्रलाई प्रतिस्पर्धी रुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे।
निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उनको थियो।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनले बताए।











