Kathmandu Press

धर्म र संस्कृतिको जगेर्ना गर्न आवश्यक : मन्त्री आले

डोटी, असार ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशकै ठुलो...
धर्म र संस्कृतिको जगेर्ना गर्न आवश्यक : मन्त्री आले

डोटी, असार ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएका छन्। 

सुदूरपश्चिम प्रदेशकै ठुलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्दै मन्त्री आलेले आफ्नो धर्म, कला र संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्ने बताए। 

उनले भने, 'देशका पुराना कला, संस्कृति एवं सनातन धर्म हामी नेपालीका पहिचान हुन्, यिनको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ।'

'हाम्रो परम्परा, कला र संस्कृति संसारकै अद्वितीय हुन्, यही हेर्न र अध्ययन गर्नकै लागि नेपालमा विश्वबाटै पर्यटक आउने गरेका छन्, त्यसैले हाम्रा यी सम्पत्तिको संरक्षणमा हामी नै लाग्नुपर्छ,' उनले भने, 'विश्वसामु नेपालीको पहिचान दिलाउने धर्मसंस्कृति र कला लोप हुन दिनुहुँदैन।' 

पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक संस्कृति, धर्म तथा कला बोकेका परम्परा संकटमा पर्न थालेकाले तिनको सम्वद्र्धन गरी युवापुस्तासम्म लैजानुपर्नेमा जोड दिए। 

डोटी जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपीठ धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीको सहजताका लागि निर्माण गरिने उक्त पदमार्ग तथा पूर्वाधार योजनाको मन्त्री आलेले आइतबार शिलान्यास गरेका हुन्।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेको पहलमा रु. ९ करोड बजेट विनियोजन भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए। 

उनका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ। बोगटान क्षेत्रको घना जंगलमा अवस्थित उक्त शक्तिपीठमा पूजाआजाका लागि स्वदेश तथा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गर्छन्। 

यहाँ पुग्ने पदमार्ग निर्माण भएपछि पर्यटकलाई तीर्थयात्राका लागि सहज हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। 

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्