हर्क्युलिज अर्थात् एकपछि अर्को बलात्कार आरोपीको हत्या गर्ने बंगलादेशी भिजिलान्ते
‘म रकिब । यो मेरो सजाय ।’
बंगलादेशी प्रहरीले गत शुक्रबार बरामद गरेको एउटा लाशसँगैको कागजमा यस्तो लेखिएको थियो ।
आफूलाई हर्क्युलिज....
‘म रकिब । यो मेरो सजाय ।’
बंगलादेशी प्रहरीले गत शुक्रबार बरामद गरेको एउटा लाशसँगैको कागजमा यस्तो लेखिएको थियो ।
आफूलाई हर्क्युलिज भन्ने हत्याराले छाडेको त्यो कागजमा अगाडि लेखिएको थियो – ‘बलात्कारीहरू सावधान ।’
त्यो लाश बंगलादेशको मदरसामा पढ्ने एक छात्राको सामुहिक बलात्कारका आरोपीमध्ये एक रकिबको थियो ।
हर्क्युलिज नामक सिरियल किलरले बंगलादेशमा बलात्कारका आरोपीलाई मारेर यस्तो नोट छाडेको यो तेस्रो घटना हो ।
यस अघि माघ १० गते बंगलादेश प्रहरीले यस्तै अवस्थामा अर्को लाश बरामद गरेको थियो । लाशको घाँटीमा बेरिएको कागजमा उस्तै सन्देश थियो –
“म सजल । म (पीडितको नाम) को बलात्कारी हुँ । यो मेरो सजाय हो ।”
सजल र रकिब दुबै बंगलादेशको भन्डारिया उपजिल्लाको एउटा मदरसामा अध्ययनरत एक छात्राको सामुहिक बलात्कारका आरोपी थिए । बाजेबोजुको घर जाँदै गरेकी ती छात्रालाई सजल र रकिबले पुस २६ गते बलात्कार गरेको आरोप छ ।
सजलको लाश भेटिएको करिब एक साताअघि राजधानी ढाका नजिकै सावर जिल्लामा प्रहरीले ३९ वर्षीय रिपोनको लाश फेला पारेको थियो । उनको घाँटीमा पनि त्यस्तै सन्देश थियो –
‘म बलात्कार सम्बन्धि एउटा मुद्दाको मुख्य आरोपी हुँ ।’
गार्मेन्टमा काम गर्ने एक महिलाको सामुहिक बलात्कार र हत्याका मुख्य योजनाकार थिए, रिपोन ।
दुई साताभित्र एउटै शैलीमा यी श्रृंखलाबद्ध हत्या भएका छन् । सबैलाई गोली हानिएको छ । सबै लाशमा फेला परेको चिठीमा एउटै नाम छ – हर्क्युलिज ।
प्रहरीले अहिलेसम्म केही सुराक पाएको छैन भने स्थानीय यसलाई बहादुरीको काम बताइरहेका छन् । न्याय दिलाउन नसक्ने वास्तविक अधिकारीको विकल्प मानिरहेका छन् ।
सन् २०१७ मा थोम्सन रोयटर्स फाउन्डेसनले बंगलादेशको ढाका महिलाका लागि सबैभन्दा खतरनाक मेगासिटी घोषणा गरेको थियो ।
विश्वभरि महिला विरूद्धको हिंसा महामारीजस्तै फैलिरहेको छ । त्यसैले पनि बंगलादेश र छिमेकी मुलुक भारतमा समेत यो सिरियल किलरलाई मानिसहरू हिरो मान्न थालेका छन् ।
को हो हत्यारा ?
बंगलादेशको प्रहरी मुख्यालयका सहायक प्रहरी महानिरीक्षक सोहेल राना भन्छन्, ‘हर्क्युलिज जो पनि हुनसक्छ । स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । यो समयमा यी हत्याहरू एउटै व्यक्ति वा समूह कसले गरेको हो यकिन गरी भन्न सकिने अवस्था छैन ।’
हत्या गरिएका रकिब र सजलका परिवारले उनीहरू दुवैलाई सादा पोशाकमा आएका मानिसहरूले लिएर गएको बताएका छन् । रकिब र सजल साथी हुन् । साथीसँग चिया खाँदै गरेका रकिबलाई जनवरी २५ मा कालो माइक्रोबसमा आएका केही व्यक्तिले उठाएर लगे ।
‘उसको साथीलाई पछि छाडिदिए । उसैले रकिबलाई प्रहरीले लगेको बतायो । उसकी आमाले छोरा बेपत्ता भएको उजुरी दिन खोजिन् तर प्रहरीले दर्ता गर्न मानेन,’ रकिबका बुवा अबुल कलामले भने ।
‘त्यसपछि उसको लाश भेट्यौं । मलाई विश्वास छ उसको हत्या प्रहरीले नै गरेको हो ।’
बलात्कारको आरोप लागेपछि रकिब बंगलादेशको राजधानी नजिकै रहेको नविनगर गएका थिए ।
सजलकी पत्नि शाम्सुन नहरले पनि बलात्कारको आरोप लागेपछि पतिले घर छाडेको बताइन् । उनले भनिन्, ‘जनवरी २२ को राति‚ उनले मलाई फोन गरेर चित्तागोङ जाँदै गरेको बताए । त्यो नै अन्तिम फोनकल थियो । त्यसपछि उनको केही खबर आएन । जनवरी २६ मा उनको लाश हाम्रो गाउँ नजिकै भेट्यौं ।’
रिपोनकी पत्नि रिक्ता बेगमले जनवरी ११ मा ढाका नजिकै आशुलियाबाट सादा पोशाकमा आएका केही व्यक्तिले पतिलाई लिएर गएको बताइन् । उनीहरूले आफूलाई प्रहरीको गुप्तचर विभागका सदस्य बताएका थिए ।
‘त्यसको ६ दिनपछि हामीले उनको लाश भेट्यौं,’ बेगमले भनिन् ।
जनवरी ७ मा आशुलियाकै बेरून क्षेत्रमा १८ वर्षिया गार्मेन्टकी कामदार आफ्नै घरमा मृत भेटिएकी थिईन् । केही घण्टा अघि उनले रिपोन र अन्य तीन विरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिईन् ।
सावर प्रहरी कार्यालयका इन्स्पेक्टर शौकत आलमले हत्यामा गुप्तचर विभागको हात नभएको बताए । उनले नै रिपोन हत्याको अनुसन्धान गरिरहेका छन् ।
‘हामीले पत्ता लगाएसम्म‚ बलात्कार र हत्याको उजुरी परेपछि रिपोन लुकेका थिए ।’
रकिब हत्याको अनुसन्धान गरिरहेका राजापुर प्रहरी कार्यालयका प्रमुख मोहम्मद जाहिद हुसैनले भन्छन्‚ ‘हामी अझै अनुसन्धान गरिरहेका छौं ।’
तर रकिब बेपत्ता हुनु र त्यसपछिको हत्यामा सादा पोशाकमा आएका व्यक्ति प्रहरी नभएको उनले दाबी गरेका छन् ।
सजल हत्याको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी गाजी फज्लुर रहमानले घटना पछाडि व्यावसायिक हत्यारा हुनसक्ने बताउँछन् । ‘सजलको टाउको मा एउटा घाउ थियो । उनलाई सम्भवतस् प्वाइन्ट ब्ल्याङ्क रेञ्जबाट गोली हानिकएको थियो ।’
बलात्कारको घटना बढ्दो
ढाकास्थित ऐन–ओ–सलिस केन्द्र नामक मानवअधिकारवादी समूहले सन् २०१८ मा कुल ७ सय ३२ महिला र ४ सय ४४ जना बालबालिका बलात्कृत भएको जनाएको छ । सन् २०१७ को तुलनामा यो १७ प्रतिशत धेरै हो ।
यो वर्षको जनवरीम मात्रै कम्तिमा पनि ७९ वटा बलात्कारका घटना भएको छ । तीमध्ये २२ वटा सामुहिक बलात्कार भएको बंगलादेश महिला परिषद्को प्रतिवेदनमा उल्लेख छ ।
जनवरी २०१४ र डिसेम्बर २०१७ बीच देशभरीमा महिला तथा बालबालिका बलात्कारका कुल १७ हजार २ सयय ८९ वटा घटना भएको गृह मामिलामन्त्री असदुज्जमन खानले गत वर्ष फेब्रुअरीमा संसदमा बताएका थिए । तीमध्ये झण्डै ८० प्रतिशत मुद्दा अझै विचाराधीन छ ।
‘बलात्कारप्रति मानिसहरू गम्भिर असन्तुष्टि बढिरहेको बेला यी सबै घटनाहरू भएका छन् । आमनिर्वाचन लगत्तै भएको चार सन्तानकी आमा सुवर्णचार बलात्कार काण्डले पूरा देश क्रुद्ध छ,’ केन्द्रकी पूर्व निर्देशक नूर खान लिटनले बताइन्।
गैरन्यायिक हत्या र जबरजस्ती बेपत्ता पारिने घटनाको बढ्दो संख्याका कारण प्रधानमन्त्री शेख हसिना सरकारको कडा आलोचना गरिएको छ । गत वर्ष मात्रै‚ लागुपदार्थका व्यापारी विरूद्ध गरिएको कारवाहीमा केही महिनाभित्रै दुई सयभन्दा धेरैको गैरन्यायिक हत्या गरिएको थियो ।
समग्रमा झण्डै १६ करोड जनसंख्या भएको बंगलादेशमा सन् २०१८ मा ६ वर्षयताकै सबैभन्दा उच्च ४ सय ६६ जनाको गैरन्यायिक हत्या भएको छ ।
(अलजजिरा र बंगलादेशका विभिन्न अनलाइन पोर्टलमा प्रकाशित समाचारहरूमा आधारित)






