Kathmandu Press

प्रचण्ड, नेपाल र यादवबीच एसपिपीबारे छलफल, प्रधानमन्त्रीलाई भेट्ने निष्कर्ष

काठमाडौं, असार ४ : नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरुबीचका बीचमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे...
प्रचण्ड, नेपाल र यादवबीच एसपिपीबारे छलफल, प्रधानमन्त्रीलाई भेट्ने निष्कर्ष

काठमाडौं, असार ४ : नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरुबीचका बीचमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल भएको छ। 

आज (शनिबार) बिहान भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवका साथै माओवादीका नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

पार्टीको युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले तीन शीर्ष नेताबीचको छलफल एसपिपीकै विषयमा केन्द्रित भएको जानकारी दिए।

उनले सन् २०१५ मा तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षरमा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न नेतारू एक ठाउँमा जुटेको जानकारी दिए।

नेपालले एसपिपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चापरिचर्चा धेरै भएकाले पुन छलफल गर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीसँग कुराकानी गरौं र यो राष्ट्रिय अन्योललाई चिर्न हामीले छलफल गरेर सत्यतथ्य जनताका माझमा प्रस्तुत गरौं भन्ने कुरा भएकाे छ,’ कार्यक्रममा उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माले एसपिपीको विपक्षमा रहेको बताएपछि आफूहरु ढुक्क भएको तर पछिल्लोपटक सार्वजनिक पत्रले अन्याेल सिर्जना गरेको उनको भनाइ थियो।

एसपिपीलाई लिएर कुन सरकारको पालामा केके भयो भन्ने यथार्थ बाहिर आउनु जरुरी रहेको नेपालले बताए।

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्