Kathmandu Press

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार संघको आग्रह

काठमाडाैं, असार ४ : राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ।सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र...
व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार संघको आग्रह

काठमाडाैं, असार ४ : राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ।

सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरुले व्यवसाय दर्तादेखि घरभाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैं साथ र समर्थन रहने बताए। 'जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ,' उनले भने।

अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे। काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने विश्वास दिलाए। 

उनले बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सिसिटिभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उल्लेख गरे। राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे।

व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष हेम खरेलले बैंकले एलसीका लागि नगद जम्मा गर्ने नियम लागू गर्दा मझौला व्यवसायी समस्यामा परेको बताए। उनले बिक्रेताले ढुवानीको पैसा तिनुपर्ने नियमले व्यवसायी मर्कामा परेकाे बताए।

संघका पूर्वध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, महासचिव वैकुण्ठ दाहालगायतले बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि बजारभित्र गल्लीको नामाङ्कन गरी ‘लोकेशन म्याप’ राख्नुपर्नेमा जोड दिए। २०६१ मा स्थापना भएको  सङ्घमा न्यूरोड क्षेत्रका दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन्। 

प्रकाशित मिति: १४:०२ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्