बैतडीमा सडक निर्माणका लागि तीन करोड विनियोजन
बैतडी, असार ४ : संघीय सरकारले बैतडीका पाँच सडकलाई प्राथमिकता दिएको छ। आगामी आर्थिक वर्षमा काम सक्नेगरी सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत...
बैतडी, असार ४ : संघीय सरकारले बैतडीका पाँच सडकलाई प्राथमिकता दिएको छ। आगामी आर्थिक वर्षमा काम सक्नेगरी सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँच सडकका लागि बजेट विनियोजन गरेको हो।
संघीय सरकारले सतबाँझ–श्रीभावर सडकका लागि एक करोड रुपैयाँ विनियो गरेको छ भने पाटन–कैलपाल–देवल सडक, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडक, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडक र सकार–बयलचौर–पाटन सडकका लागि समान ५० लाख रुपैयाँ बिनियोजन गरेको छ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यी सडक निर्माण गरिने बताइएको छ । यसअघि संघीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो ।
पाटन नगरपालिकाका लागि ४९ करोड ३६ लाख, दशरथचन्द नगरपालिकाका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि ३८ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदारका लागि ३८ करोड ९० लाख, डिलाशैनीका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वरका लागि ३० करोड ८४ लाख, सिगासका लागि ३२ करोड ३७ लाख, सुर्नयाका लागि ३२ करोड ४० लाख र शिवनाथका लागि २५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।












