फिजीमा कोरोना सङ्क्रमित ७ दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने

सुभा, असार ३ : फिजीमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरू अबदेखि सात दिन मात्रै आइसोलेसनमा बस्नु पर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट सङ्क्रमित भएको सात दिनपछि बाहिर निस्केर पनि आफ्नो काम गर्न पाइने स्पष्ट पारेको छ।
मन्त्रालयका अधिकारीहरूले सात दिन भने कडाइका साथ आइसोलेसनमा बस्नु पर्नेमा जोड दिइएको जनाएका छन्।
'कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम त चलिरहेको छ, तर सात दिनभन्दा बढी आइसोलेसनमा बस्न भने नपर्ने व्यवस्था गरिएको छ,' मन्त्रालयका एक अधिकारीले भने।
विभिन्न अध्ययन र अभ्यासका आधारमा चिकित्सकहरूले सात दिन पछि कोरोना भाइरसको सङ्क्रमण अरुलाई नसर्ने पुष्टि भएको बताएकाले आइसोलेसनमा पनि सात दिन मात्रै राख्ने निर्णय गरिएको मन्त्रालयको भनाई छ।
मन्त्रालयका अधिकारीहरूले कोरोनाका कारण मृतकको सङ्ख्या भने निकै कम भएको पनि जनाएका छन्। उनीहरूका अनुसार खोप लगाएका र त्यस मध्ये पनि बुस्टर डोज लगाएकाहरूका भने निकै कम मात्रै समस्या देखिएको उनीहरूको भनाई छ।
सुरक्षाका लागि बुस्टर डोज लगाउनु अति उपयुक्त भएकाले बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार १८ वर्षमाथिका ८० प्रतिशतभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा समेत लगाइसकेका छन्।












