बेंसीसहर-चामे सडक भासियो

लमजुङ, असार ३ : लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर-चामे सडक भासिएको छ। केही दिनदेखि निरन्तर वर्षासँगै पानीको बहाव बढेर मस्र्याङ्दी नदीले आज बिहान १० बजेतिर सडकमा असर पुर्याउँदा बेंसीसहर नगरपालिका–६ खरखरे भिरको सडक भासिएको हो।
डुम्रे बेंसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषत्तोम अधिकारीले भने, 'केही दिनदेखि परेको पानीले खरखरे भिरमा नै मूल पलाएको छ, त्यही पानीको भल र तलपट्टि मस्र्याङ्दी नदीले खोतलेका कारण सडक भासिएको हो। यहाँ करिब सातआठ मिटर लम्बाइ सडक भासिएको उनको भनाइ थियो। यस स्थानमा चार दिनअघि पनि सडक अवरुद्ध भएको थियो।
यहाँ बर्सेनि बर्खायाममा दैनिकजसो सडक अवरुद्ध हुने गर्दछ। सडक अवरुद्ध भएपछि कार्यालयको एक्साभेक्टरले खुलाउन प्रयास गरिरहेको र कति समय लाग्ने भन्ने यकिन नभएको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीले बताए।
उनले भने, 'सधैँ यहाँ सडक अवरुद्ध भइरहने भएकाले हामीले हाम्रो एक्साभेक्टर तैनाथ गरेर अवरुद्ध हुनासाथ खुलाउने प्रयास गर्दै आइरहेका छौँ। विगतका वर्षहरुमा यहाँ ठूलो पहिरा गएकाले र बेलाबेलामा ठूलाठूला ढुङ्गाहरु झर्दा सडक अवरुद्ध हुने गरेको छ।
बेँसीसहर–चामे सडक ६५ किलोमिटर लामो दूरी छ। यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्दछन्। उक्त स्थानमा अहिले पनि सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परिरहेका छन्।












