Kathmandu Press

बाजुरामा भेटिए कालाजारका बिरामी

बाजुरामा भेटिए कालाजारका बिरामी

बाजुरा, असार ३ : जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन्।

उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजंग शाहीले बताएका छन्। 

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याएका स्वामिकार्तिक खापर गाउँपालिका–३ बस्ने २ वर्षका बालकमा कालाजार देखा परेको छ।

Hardik ivf

कालाजार देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

ती बालकको परीक्षण गर्दा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले राससलाई बताए।

कालाजार देखिएका बालकलाई जिल्ला अस्पताल बाजुराले थप उपचारका लागि धनगढी पठाएको छ। कालाजारको जिल्लामा उपचार हुन्थ्यो तर औषधि नहुँदा धनगढी रिफर गरेको अस्पतालका सूचना अधिकारी गिरीले बताएका छन्। 
 
जिल्लामा दुई वर्र्षयता १३ जनाको जाच गर्दा कालाजार भेटिएको छ। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १२ र एक जिल्ला अस्पताल बाजुरामा गरी १३ जनामा कालाजार भेटिएको छ।

कालाजार कर्णाली नदीसँगै जाडिएको स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकामा देखिने गरेको छ। 

कालाजारको उपचार जिल्लामा हुने भने पनि कहिले औषधि नहुने समस्याले नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ। तराईमा देखिने यो रोग पछिल्लो समयमा पहाडतिर पनि देखिन थालेको छ। यो भुसुनाको टोकाइबाट हुने र सर्ने रोग हो। 

कोल्टी क्षेत्रमा दुई वर्ष पहिले कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो। स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौँको कान्ति बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन्। बिरामीको जाँच र उपचार भने निःशुल्क हुने गर्छ। उक्त क्षेत्रमा तीन वर्ष पहिले मलेरिया रोगसमेत देखा परेको थियो। 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्