Kathmandu Press

तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

जनकपुर, असार ३ : स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने...
तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

जनकपुर, असार ३ : स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ २१ गतेदेखि मूलगेटमा तालाबन्दी गरेका थिए । 

जिल्लाकै ठूलो उक्त पोल्ट्रीमा तालाबन्दीपछि कुखुरा मर्नुका साथै अण्डा सङ्कलन कार्यसमेत ठप्प भएको छ । दैनिक करिब रु १२ लाखभन्दा बढीको घाटा भइरहेको उद्योगका प्रबन्धक टुरदेव अधिकारीले जानकारी दिए । ‘दाना खुवाउन नसक्दा धमाधम कुखुरा मर्न थालेका छन्,’ उनले भने, ‘तीन दिनमा करिब एक हजारभन्दा बढी कुखुरा मरेका छन्।’ पोल्ट्रीमा एक लाख २५ हजार कुखुरा रहेका थिए । दाना खुवाउन नसक्दा कुखुरा मर्न थाले पनि टुलुटुलु हेर्नुबाहेक केही गर्न सक्ने अवस्था नरहेको अधिकारीले बताए। 

विसं २०५७ मा स्थापना भएको सो पोल्ट्रीमा यसअघि दैनिक करिब ८० हजार अण्डा उत्पादन हुँदै आएको थियो । अधिकारीले भने, ‘तालाबन्दी भएकाले अहिले अण्डा उत्पादन १०–१५ हजारमा झरेको छ।’ अहिले उत्पादन भइरहेको अण्डा सङ्कलन र बजार पठाउने काम ठप्प छ । फोहरमैला व्यवस्थापन गर्न प्रयास जारी रहे पनि स्थानीयवासीले पोल्ट्री नै अन्यत्र सार्न माग गरेको अधिकारी बताउँछन्।

बस्तीमा दुर्गन्ध फैलिएकाले तालाबन्दी गरिएको स्थानीय श्रवण चौधरीले बताए। ‘फोहरमैलाका कारण दुर्गन्ध फैलिएको छ, हामी नाक थुनेर बस्नुपर्ने अवस्था छ ।’ खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या समाधानका लागि पहल भइरहेको बताए। 

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, असार ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्