Kathmandu Press

बढ्दो अमेरिका–चीन द्वन्द्वबीच आसियान राष्ट्र सम्बन्ध विस्तारमा

बढ्दो अमेरिका–चीन द्वन्द्वबीच आसियान राष्ट्र सम्बन्ध विस्तारमा

काठमाडाैं, असार २ : दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको विशेष बैठकले अमेरिका र चीनबीचको बढ्दो द्वन्द्वलाई दृष्टिगत गरी सदस्य राष्ट्रबीचको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएको छ। 

भारत र सिङ्गापुरको  सह–अध्यक्षतामा आज यहाँ शुरू भएको उक्त बैठकले युक्रेनमा जारी आक्रमणले यस क्षेत्रको शान्ति र स्थायित्वमा जोखिम थपेको तथा संयुक्त राज्य अमेरिका र चीनबीचको चर्को द्वन्द्वले पारस्परिक सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएको हो। 

भारतका विदेश मन्त्री एस जयशङ्करले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र युक्रेन युद्धको  भूराजनीतिक प्रभावको सामना गरिरहेका बताउँदै खाद्य र ऊर्जा सुरक्षाका साथै मलखाद एवम् दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनपेक्षित रूपमा बढेको तथा आपूर्ति शृङ्खला भएको अवरोधले यस क्षेत्रमा  असर परेको बताए। भारतले बलियो, एकीकृत, समृद्ध आसियानलाई पूर्ण रूपमा समर्थन गर्ने बताए। 

सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले युक्रेनमा रूसको कारबाहीबाट अन्तर्राष्ट्रिय नियम र मापदण्डहरूको उल्लङ्घन भएको टिप्पणी गरे। उनले अमेरिका र चीनबीचको द्वन्द्वले सम्पूर्ण एसियामा प्रत्यक्ष प्रभाव पारेको बताए। रूस–युक्रेन युद्ध र अमेरिका–चीन द्वन्द्व नियन्त्रण भएन भने क्षेत्रीय शान्ति र स्थायित्वको प्रणालीलाई जोखिममा पार्ने उनले बताए। 

दुईदिने उक्त बैठकमा  ब्रुनाइ, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, म्यान्मा र भियतनामका विदेशमन्त्री सहभागी छन्। 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, असार २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्