Kathmandu Press

माधव नेपाल समितिको प्रतिवेदनः धावन मार्ग एकातिर, टर्मिनल भवन अर्कोतिर

काठमाडौं, माघ २४ः संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका नाममा विवादित सुझाव दिएको तथ्य खुलेको छ । समितिले दुई साता अघि....

माधव नेपाल समितिको प्रतिवेदनः धावन मार्ग एकातिर, टर्मिनल भवन अर्कोतिर

काठमाडौं, माघ २४ः संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका नाममा विवादित सुझाव दिएको तथ्य खुलेको छ । समितिले दुई साता अघि बुझाएको प्रतिवेदनमा एकातर्फ टर्मिनल भवन र अर्को तर्फ धावन मार्ग निर्माणको लागि छुट्टा–छुट्टै स्थानमा निर्माण गर्ने गरी सुझाव दिएको छ । जबकि, टर्मिनल भवन र धावन मार्ग सँगै हुनुपर्ने हुन्छ । प्रतिवेदन अनुसार रुख नभएका दुई स्थानलाई छनोट गरेर एक स्थानमा धावन मार्ग र एक स्थानमा टर्मिनल भवन बनाउने गरी निर्देशन दिएको पाइएको छ । 

समितिले इन्जिनियरिङको प्राविधिक अध्ययनलाई नै असर पर्ने गरी सुझाव तथा निर्देशन दिएपछि पर्यटन मन्त्रालय देखि नागरिक उड्डयन प्राधिकरणसम्म अन्योलमा परेको छ ।  समितिले गत असोज १२ गते अध्ययनका लागि भन्दै माधव नेपाल संयोजक रहेको उपसमिति गठन गरेको थियो । रुख काट्ने विषयलाई लिएर विवाद भएपछि नेपालको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।   

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र संचालनको जिम्मा कतारलाई दिनेगरी सरकारले छलफल गरिरहेका वेला संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफ्ठेरो पर्ने सुझाव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणनै अन्योलनमा परेको छ ।   

समितिले दिएको प्रतिवेदन अनुसार विमानस्थल निर्माण हुनै नसक्ने नागरिक उड्डयन प्राधिकरणका एक इन्जिनियरले बताए । “अव संसदीय प्रतिवेदनलाई ग्रहण त गर्नै पर्ने हुन्छ तर सुझाव कार्यन्वयन गर्न सक्ने ठाऊ छैन,” ती इन्जिनियरले भने ।  

समितिको प्रतिवेदनमा रुख कम भएका स्थानहरु भन्दै धावन मार्ग र टर्मिनल भवन बनाउन छुट्टा–छुट्टै स्थानको सिफारिस गरेको छ । असोज १२ गते गठित उपसमितिले पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन दुई साता अगाडी मात्रै अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएको थियो । समितिले निजगढ विमानस्थल निर्माण थाल्नुको विकल्प नभएको भन्दै निर्माण कार्य सिध्र अगाडी बढाउन निर्देशन समेत दिएको छ । 

सोही निर्देशनको बुदा नम्बर ६ मा हालको प्रस्तावित स्थानको टर्मिनल भवनबीचबाट परिर्वतन गरेर एक साइडमा राख्ने सुझाव दिएको छ । त्यस्तैगरी सोही बुँदामै धावन मार्ग पनि टांगिया बस्ती तर्फ जंगल नभएको स्थानमा बनाउन निर्देशन दिएको छ । “उक्त निर्देशनका अनुसार धावनमार्ग अन्यत्र हुन्छ भने टर्मिनल भवन अन्यत्र पर्दछ,” ती इन्जिनियरले भने  ।  रुख कमभन्दा कम काटेरनै विमानस्थल बनाउने भएपनि प्राविधिकरुमा नमिल्ने संसदीय प्रतिवेदन आएको उनको बुझाई छ । 

वि.स २०६४ मा तत्कालिन मन्त्रीपरिषद् बैठकले विमानस्थल स्वामित्व, निर्माण र हस्तान्तरण (बुट) मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिनको लागि कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाईड कम्पनी (एलएमडवल्लु) लाई जिम्मा दिएको थियो । 

सोही कम्पनीले २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका अनुसार सरकारले निर्माण कार्य अगाडी बढाएको हो, तर प्राविधिकले कुन स्थानमा टर्मिनल भवन कुन स्थानमा धावन मार्ग हुने भन्ने सुझाव दिएको थियो । “तर विना तयारी हचुवामा संसदीय समितिले सुझाव दिएकोले मान्न पर्ने भन्ने हुदैन,” मन्त्रालयका एक अधिकारीले भने । “प्रतिवेदन अनुसार टर्मिनल भवन र धावन मार्ग रुख नभएका ठाऊमा बनाउनु पर्ने हुन्छ, तर कसरी इन्जिनियरीङ मिल्छ ?,” ती अधिकारीले भने । 

समितिले गत कात्तिक १९ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल ध्ययानका लागि संयोजक नेपाल सहित पाँच सदस्यीय टोली त्यस तर्फ गएका थिए । हेलिकप्टरबाट पनि अध्ययन गरेको उपसमितिले पर्यटन तथा नागरिक उड्डयन अध्ययन तथा अनुगमन सम्बन्धी स्थलगत अध्ययन प्रतिवेदन २०७५ तयार पारेको छ ।    

यता सरकारले भने कतारलाई कम्तीमा ३० वर्षको लागि निजगढ विमानस्थल निर्माण र संचालनको विना प्रतिस्प्रर्धा दिनेगरी छलफल गरिरहेको छ । 

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले कतारलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा दिनेगरी छलफल गरेको हो । अर्थमन्त्रालयले गत भदौमा निजगढ विमानस्थल निर्माणको लागि पीपीपी मोडल उपयुक्त हुनेगरी सुझाव दिएको थियो । 

३ हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुने विमानस्थलमा विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरु उडान÷अवतरण गर्न सक्छन ।  

निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन । त्यस्तैगरी यात्रु सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लोतलामा आगमनका लागि बनाइने छ ।       
 
 

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, माघ २४, २०७५