नगर अस्पतालमा लगाइँदै रेबिजविरुद्ध निःशुल्क खोप
चितवन, असार २ : पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा शुरु गरिएको छ।जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो...
चितवन, असार २ : पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा शुरु गरिएको छ।
जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पनि शुरु गरेको हो। खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा खोप सेवा शुरु गरिएको हो।
दैनिकरुपमा यो सेवा लिन सकिने उनले बताए। एन्टी रेबिज खोप हालसम्म जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइँदै आएकोमा पूर्वी चितवनका जनतालाई लक्षित गरी आफूहरुले शुरु गरेको उनको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले यस सेवाबाट खैरहनी मात्रै नभएर पूर्वी चितवनका जनताले सेवा लिनसक्ने बताए। यो खोप निःशुल्क पाइन्छ।
कुकुर, बिरालो, स्याल, चमेराजस्ता जङ्गली तथा घरपालुवा जनावरको टोकाइबाट सर्ने रेबिज रोगलाई प्राणघातक मानिन्छ । रेबिज एक प्रकारको भाइरस हो। (रासस)












