Kathmandu Press

भक्तपुरको बस्तीदेखि विद्यालयसम्म डुबानमा, नगर प्रमुख प्रजापतिद्वारा अनुगमन

भक्तपुरको बस्तीदेखि विद्यालयसम्म डुबानमा, नगर प्रमुख प्रजापतिद्वारा अनुगमन

भक्तपुर, असार १ : दुई दिनदेखि भक्तपुरमा राति परेको भीषण वर्षाका कारण बस्ती, सार्वजनिकस्थल र विद्यालय डुबानमा परेका छन्। भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीमा हरेक वर्ष डुबानमा पर्ने गरे पनि यस वर्ष भने असार सुरु हुने बित्तिकै भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका हुन्।
    
हुनमन्ते खोलामा आएको बाढीले वडा नं ३ र ४ का विभिन्न ठाउँमा क्षति पुर्‍याएको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका–३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएका क्षेत्रको आज निरीक्षण गरेका छन।
    
बाढीले भक्तपुर नपा वडा–३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा–४ राममन्दिरस्थित शान्ति निकेतनमा बाढी पसेर क्षति पुर्‍याएको छ। नगर प्रमुख प्रजापतिले बाढी प्रभावित क्षेत्र र विद्यालयको स्थलगत निरीक्षण गरे।
    
स्थानीयले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनुपर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटोको व्यवस्था गर्नुपर्ने माग नगर प्रमुख प्रजापतिलाई गरेका छन्। नगर प्रमुख प्रजापतिले बाढीका कारण परेका समस्या क्षतिकाबारेमा आफूले जानकारी पाएको भन्दै समस्या समाधान गर्न नगरपालिकाले तत्काल आवश्यक काम गर्ने बताए।
    
त्यसैगरी आज राति परेको वर्षाका कारण सूर्यविनायक नगरपालिका–५ ढुङ्ग्रे खोलामा बाढी आउँदा कटुञ्जेका खोला आसपासका नयाँ बस्ती डुबानमा परेका छन्। खोला बस्तीमा पस्दा यहाँका घरभित्र पानी पसेर क्षति पुर्‍याएको छ भने सडकमै खोला बग्दा आवतजावतमा समस्या परेको स्थानीय युवराज घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: १९:०७ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्