श्रीलङ्कामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
कोलम्बो, असार १ : श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न...
कोलम्बो, असार १ : श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन्।
श्रीलङ्का पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिइएको जनाएको छ। प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग मङ्गलबार भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर स्वदेश आउने अनुमान गरिएको जानकारी दिएका छन्।
बैठकमा जाफ्ना विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् । प्रधानमन्त्री विक्रमासिङ्घेले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र नयाँ नयाँ भ्रमण प्याकेजहरु बनाउन सुझाव दिएका थिए।
त्यसैगरी पर्यटकहरुलाई दिइने सेवा सुविधालाई गुणस्तरीय, विविधता र सन्तुष्टिपूर्ण बनाउन पनि उहाँले आग्रह गर्नु भएको थियो । पर्यटन उद्योगलाई महत्वपूर्ण उद्योग बनाउदै आएको श्रीलङ्काले कोरोना भाइरसको महामारीका कारण थिलो थिलो भएको पर्यटन उद्योगलाई फेरि सक्रिय बनाउने कसरत थालेको छ।
श्रीलङ्कामा अहिले आर्थिक सङ्कट उत्पन्न हुनुमा महामारीका बेला पर्यटन उद्योगमा ठूलो घाटा लाग्नुलाई पनि मुख्य कारण मानिन्छ। आर्थिक सङ्कटका कारण श्रीलङ्कामा राजनीतिक उथलपुथल भएको छ भने अहिले पनि मूल्य बृद्धि र अभाव सृजना भएको छ।












