दाहालको विज्ञप्तिप्रति प्रधानमन्त्री ओलीको आक्रोश
काठमाडौं, माघ २४ : नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफू विदेश भएको बेला भेनेजुएला....
काठमाडौं, माघ २४ : नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफू विदेश भएको बेला भेनेजुएलाको मामिलामा विज्ञप्ति जारी गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
दाहालले जानाजान ओली सरकारलाई अप्ठेरोमा पार्न अमेरिकाविरुद्ध हतारमा वक्तव्य दिएको हुनसक्ने भन्दै नेकपाभित्रैबाट आशंका भइरहदा ओली स्वयम्ले अशिष्ट भाषामा वक्तव्य जारी गरेको बताएका हुन् ।
नेपाल टेलिभिजनबाट बुधबार ९ बजे प्रशारित हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले भने, ‘त्यो अलिकति स्लीप भएको हो । म भोलिपल्ट आउँदै थिएँ । अघिल्लै दिन नदिई नहुने केही कारण परेको थिएन । त्यो जरुरी विषय थिएन । जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त भाषा पनि अलि भएन । त्यसले तरंग ल्यायो ।’
यदि तपाईं नेपालमै भएको भए नेकपाको त्यस्तो विज्ञप्ति आउँथ्यो होला ? भन्ने प्रस्तोताको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘आउने थिएन । स्वाभाविक रूपमा आउने थिएन । त्यसमा हाम्रा सुस्पष्ट नीतिहरू छन् । त्यस कारणले गर्दा त्यसो हुने थिएन । त्यो स्लीप भएकै हो । त्यसैमा अल्झिराख्नु वाञ्छनीय हुँदैन ।’
प्रधानमन्त्री ओलीले मंगलबार मात्र भेनेजुएला समेतको विषयमा कुरा गर्न अमेरिकी राजदूत बालुवाटार आएको बताए । उनले अमेरिकाजस्तो ठूलो देशले यत्ति सानो विषयमा चित्त दुखाउन नहुने पनि बताए । उनले अमेरिकालाई यस विषयमा अल्झि नराख्न पनि आग्रह गरे । ‘कोही एक जना साथीले एउटा वक्तव्य दिनुभो, त्यसैका पछाडि देश–देशबीचका सम्बन्ध अडेका हुँदैनन् । त्यसैमा उत्पन्न भएको पनि हैन, त्यसैबाट अन्त्य हुने पनि हैन’, प्रधानमन्त्री ओलीले भने, ‘जानेर नजानेर यस्ता ससाना उतारचढाव हुन पनि सक्छन् । युद्धको घोषणा त गरिएको छैन त्यहाँ ? अमेरिका यत्रो ठूलो देश हो, यत्ति सवल देश हो । अमेरिका जस्तो ठूलो देशले यस्ता ससाना कुरामा अल्झि राख्नु वाञ्छनीय हुँदैन ।’
पूरा भिडियाे हेर्नुहाेस्
आफ्नो नामै लिएर वक्तव्य दिँदा अमेरिकालाई अलिकति चित्त दुखेको हुनसक्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘सम्बन्ध बिग्रियो भनेर गरिएको हल्ला जस्तो पनि हैन । यसलाई मान्छेले जस्तो भयावह चित्रण गर्न खोजेका छन्, त्यस्तो हैन । सम्बन्ध सप्रिएकै छन्, सप्रदै जानेछन् ।’
ठूला देशबाट पनि यस्ता स्लीप हुन सक्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘त्यस्तै चित्त दुखाउने हो भने त हामीजस्तो सानो देशलाई अर्को देशको अंग हैन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने हैन र ? सानो र कमजोर देश भयो भने चित्त दुखाउन पनि नपाउने, ठूलो भयो भने धेरै चित्त दुखाउनुपर्ने हो र ?’
भेनेजुएलामा प्रजातान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई अपदस्थ गरी अमेरिकाको हस्तक्षेपमा विपक्षी हुवान गुएइदोले आफैँलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ११ मा कडा विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए ।






