Kathmandu Press

विवाहको उमेर १८ वर्षमा झार्न सरकारले गृहकार्य थालेको छ : कानुनमन्त्री कोइराला

काठमाडौं, असार १ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्न सरकारले गृहकार्य थालेको बताएका छन्।बुधबार...
विवाहको उमेर १८ वर्षमा झार्न सरकारले गृहकार्य थालेको छ : कानुनमन्त्री कोइराला

काठमाडौं, असार १ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्न सरकारले गृहकार्य थालेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्यस्तो जानकारी दिएका हुन्। 

विवाहका लागि २० वर्ष उमेर पुग्नुपर्ने व्यवस्था तर्कसंगत नदेखिने उल्ले गर्दै सो व्यवस्थाले व्यावहारिक बनाउनेभन्दा अपराध बढाइरहेको स्पष्ट पारे।

‘यस किसिमले कानुन पुनरावलोकनका लागि कानुन मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ,’ मन्त्री कोइरालाले भने। उनले सामाजिक अवस्थाअनुरूप कानुन बनाउनुपर्ने आवश्यकता पनि औंल्याए।  

कांग्रेस सांसद पुष्पा भुसालले विवाह गरेका घटनामा समेत अपराध हुने गरेको भन्दै सरकार विवाहको उमेर १८ वर्षमा झार्न तयार छ कि छैन भन्दै प्रश्न राखेकी थिइन्। उनले १६ वर्षमा नागरिकता पाइन्छ र १८ वर्षमा बालिग भनेर भोट हाल्न मिल्ने कानुनी व्यवस्था रहेको स्मरण पनि गराएक थिइन्। 

मुलुकी फौजदारी संहिता निर्माणका क्रममा विवाहको उमेर २० वर्ष पुर्‍याइएको थियो। त्यसअघि नेपालमा विवाहको उमेर १८ वर्ष नै तोकिएको थियो। महिलामा परिपक्वता नआउने र त्यसले मातृ शिशु मृत्युदर बढाउने बहस भएपछि विवाहको उमेर २० वर्ष पुर्‍याइएको थियो।  

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्