Kathmandu Press

सेयर बजारमा लगानी गरेकाको समस्या सम्बोधन गर्नु राज्यको दायित्व : गगन थापा

काठमाडौं, असार १ : कांग्रेस सांसद गगन थापाले सेयर बजारको समस्याबारे संसदमा प्रश्न उठाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजारको तरलता अभावले...
सेयर बजारमा लगानी गरेकाको समस्या सम्बोधन गर्नु राज्यको दायित्व : गगन थापा

काठमाडौं, असार १ : कांग्रेस सांसद गगन थापाले सेयर बजारको समस्याबारे संसदमा प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजारको तरलता अभावले सेयर बजारमा आउने संकुचन स्वाभाविक भए पनि नेपाल राष्ट्र बैंकको कर्जा संकुचनका कारण यस्तो अवस्था आएको भनिए पनि स्वाभाविक मान्न नसकिने बताए।

विश्वव्यापी रूपमा सेयर बजारलाई अर्थतन्त्रको परिसूचकका रूपमा हेरिने गरेको बताउँदै उनले सेयर बजारको स्थायित्व र सवलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सूचकांक देखाउने थापाको भनाइ थियो।

‘लामो समयदेखि नेपालको सेयर बजार अस्थिर छ। २०७८ भदौ २८ मा ३१९८ को उच्चतम बिन्दुमा पुगेको नेम्से हिजो १९९९ मा झरेको छ,’ उनले भने, ‘यस्तो घटनाले सेयर बजारको विश्वसनीयतामा नकारात्मक प्रभाव पर्ने नै भयो। धेरै साना लगानीकर्तालाई यसले नराम्रो प्रभाव पारेको छ।’

उनले सेयर बजारमा लगानी गरेकाहरूको समस्या सम्बोधन गर्नु राज्यको दायित्व भएको बताए। सामान्य अवस्थामा सेयर बजार तलमाथि हुने कुरालाई लगानीकर्ताले बुझ्नुपर्ने भए पनि अस्थिर नीतिका कारण बजारको ह्रासले अहिले विद्यमान र सम्भाव्य सबै लगानीलाई निरुत्साहित गरिरहेको उनले स्पष्ट पारे।

उनले सेयर बजारको स्थायित्व र विश्वसनीयता कायम गर्न अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र राष्ट्र बैंकजस्ता नियमनकारी निकायले के कस्ता काम गरिरहेका छन् र साना लगानीकर्ताहरूको सुरक्षाका निम्ति के कस्ता काम भइरहेका छन् भन्ने विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।

उनले अर्थतन्त्रलाई संकुचन गर्ने नीति ठिक नभएको पनि संकेत गदैृ भने, ‘निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत धितोपत्र बजारमा ल्याएर अर्थतन्त्र फराकिलो बनाउने बेलामा धितोपत्र बजारमा यति ठूलो संकट आउनु सकारात्मक होइन र धितोपत्र बोर्डका नीति स्थिर र विश्वसनीय हुनुपर्छ।’

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्