नेपालले अमेरिकासँग एसपिपी सम्झौता गर्दैन, गर्न पनि दिइँदैन : गगन थापा
एमसिसीजस्तो सम्झौता सबै देशबाट लिने भए पनि सेना सहभागी हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी नहुने र हुन पनि नदिइने सांसद थापाले स्पष्ट पारे।
काठमाडौं, असार १ : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का लागि नेपालले गर्न लागेको सम्झौताबारे सरकारले संसदमा जवाफ दिनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामरिक रणनीतिको एिसपपी सहकार्य नेपालले गर्न नहुनेमा जोड दिँदै उनले कांग्रेसको पनि त्यस्तै धारणा रहेको स्पष्ट पारे।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे संसदमा उभिएर जवाफ दिनुपर्नेमा उनले जोड दिए।
‘अहिले प्रधानमन्त्रीमा मेरै पार्टीका सभापति हुनुहुन्छ। नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ। एसपपिीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा नेपाल सहभागी हुनुहुँदैन। प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ,’ थापाले भने, ‘म आग्रह गर्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ।’
उनले थपे, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो। हामीले के गर्ने हो, त्यसबारे यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ।’
उनले १० बुँदे सहकार्य प्रस्ताव रहेको भन्दै सञ्चारमाध्यममा आएको सम्झौता के हो, कसको पालमा सुरु भएको र कहाँँबाट आएको हो भन्दै प्रश्न गरे। ‘सेनाको प्रवक्ता यसबारे थाहा छैन भन्नुहुन्छ। वेबसाइटमा हेर्दा २०१९ मै पूववर्ती सरकारको पालामा त्याे आएको रहेछ, पूववर्ती रक्षामन्त्रीहरूले सराकारात्मक भएर अघि बढाएको भन्ने पनि समाचारहरू आएका छन्। सरकारले तत्काल यहाँ उभिएर आफ्नो प्रस्ट धारणा यहाँ राख्नुपर्छ,’ उनले भने।
एमसिसीजस्तो सम्झौता सबै देशबाट लिने भए पनि सेना सहभागी हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी नहुने र हुन पनि नदिइने सांसद थापाले स्पष्ट पारे।
‘हामीले केही समयअगाडि एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्यौँ। यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो। मुलुकलाई समृद्ध पार्ने हो,’ उनले भने, ‘तर नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन। त्यस्तो सम्झौता हुन सक्दैन, हुन दिइँदैन।’
विकासका लागि नेपालले सबै मित्रराष्ट्रसँग मिलेर काम गर्नुपर्ने भएपनि उनीहरूले यो गर वा त्यो गर भनेको कुरा भने सुन्न नहुनेमा सांसद थापाले जोड दिए।











