Kathmandu Press

यातायात व्यवसायीको मनाेमानी, ६५ किमीमा २५०० भाडा

बाजुरा, कात्तिक २० : यातायात व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन्। कर्णाली करिडोरअन्तर्गत पर्ने बाजुराको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मक....

यातायात व्यवसायीको मनाेमानी, ६५ किमीमा २५०० भाडा
फाइल फोटो

बाजुरा, कात्तिक २० : यातायात व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन्। कर्णाली करिडोरअन्तर्गत पर्ने बाजुराको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा दुई हजार पाँच सयसम्म भाडा लिने गरेका छन्।

महङ्गो भाडा तिर्नु यात्रुका लागि बाध्यता भएको छ। साना सवारी साधान प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ।

यो बाटोमा एक यात्रुबाट दुई हजार पाँच सयसम्म भाडा असुलेको  भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए। यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन्।

Hardik ivf

मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा एक हजार दुई सय भाडा रहेकामा कच्ची बाटोका नाममा छोटो दूरीमै खुलेआम रकम असुल्ने गरिएको उनको भनाइ छ।

मार्तडीदेखि कोल्टीसम्म ४३ किलोमिटर बाटोमा समेत एक हजारदेखि एक हजार पाँच सयसम्म भाडा तिर्नुपरेको गुनासो यात्रुको छ। टिकट नदिने र दिए पनि कम लेख्ने तर बाँकी पैसा बाध्य पारेर तिराउने गरिएको यात्रुले बताएका छन्।

कसैलाई भने राम्रो नहुने चेतावनी यातायात व्यवसायीले दिने गरेका यात्रुको गुनासो छ। प्रहरी वा अरु कसैलाई भाडाबारे जानकारी दिए नबोक्ने धम्की दिने गरेकै कारण स्थानीय वासिन्दाले बाध्य भएर भनेको भाडा तिर्नु परिरहेको प्रहरीको भनाइ छ।

कर्णाली करिडोर नेपाली सेनाले निर्माण जिम्मा लिएको छ। तत्काल यात्रुको सहजताका लागि भन्दै केही साना सवारी साधन सञ्चालनमा छन्।

त्यही मौका पारेर यातायात व्यवसायीले प्रहरीलाई समेत छलेर भाडा असुल्ने गरेका हुन्। जिल्लाका सबैजसो ग्रामीण सडकसँगै अन्य मार्गमा सञ्चालन हुने साना सवारी साधनले पनि यात्रुबाट मनोमानी भाडा लिने गरेका छन्।

सदरमुकाम मार्तडी–कोल्टी, मार्तडी–डोगडी, मार्तडी–घटमुनासहित कर्णाली करिडोर सडकमा पनि व्यवसायीले खुलेआम यात्रुबाट भाडा लिने नाममा बढी पैसा असुली गर्ने गरेका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र नेपाली सेनाले कर्णाली करिडोरमा प्रतिकिमी ११ लिने निर्णयसमेत गरेको थियो। त्यो मूल्य जोड्दा पिलुचौरदेखि जितेगडासम्मको सात सय १५ रुपैयाँ हुन्छ, तर तेब्बर रकम यातायात व्यवसायीले असुली गरिरहेका छन्।

नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले सडक निर्माणमा खटिएका सेनाका इन्चार्जलाई बुझेर भाडा नियन्त्रण गर्नका लागि निर्देशन दिने बताए। कर्णाली करिडोरमा बाजुरा र कालिकोटका यातायात व्यवसायीले यातायात सञ्चालन गरिरहेका छन्।

कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म एक सय ४५ किलोमिटर छ। कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लामा रहेको छ।

सेनाले यो सडक निर्माणको काम २०७१ चैतबाट सुरू गरेको थियो । अहिलेसम्म १०७ किमीमा काम भइरहेका मध्ये ७२ किमीमा यातायात सञ्चालनमा आएको उपसेनानी शङ्कर सिलवालले जानकारी बताए। (रासस)

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्