चुनावी तयारी शुरू, आजबाट मतदाता नामावली संकलन
काठमाडौं, असार १ : स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले आजबाट संघ र प्रदेश सभा निर्वाचनको तयारी शुरु गर्न लागेको छ।आयोगले प्रतिनिधिसभा...
काठमाडौं, असार १ : स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले आजबाट संघ र प्रदेश सभा निर्वाचनको तयारी शुरु गर्न लागेको छ।
आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि आजबाट मतदाता नामावली संकलन शुरु गर्ने भएको छ। सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि मतदाता नामावली दर्ता गर्न सकिनेछ। यससँगै मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन पनि सकिनेछ।
त्यस्तै, आयोगले वितरण गरेको मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा कुनै कारणवस नाम छुटेकाले पनि नाम लेखाउन सक्ने आयोगले जनाएको छ।
आयोगले गत जेठ ३० गते देशभर एकै पटक स्थानीय तहको चुनाव गरेको थियो। अब मंसीरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने आयोग तयारी छ।
यसअघि २०७४ साल माघमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भएको थियो।











